२३ भदौ, काठमाडौं । बाढीपीडितको राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले प्रधानमन्त्री राहत कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । यसैबीच, ब्रह्माकुमारी नेपालले भदौ २० गते शनिबार भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा ललितपुरको सातदोबाटोस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय स्विमिङ कम्प्लेक्सको हलमा श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा एक हजारभन्दा बढी राजयोगी, तपस्वी, प्रजापिता ब्रह्माकुमारी तथा ब्रह्माकुमारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले ‘ॐ’ ध्वनिसहित योग–तपस्या, मौनधारण तथा दीप प्रज्वलन गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने शोकसन्तप्त परिवारजनको शान्ति, धैर्य र आत्मबलका लागि प्रार्थनासमेत गरिएको थियो । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोटको त्रिशूली तथा देवीघाट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।