• २०८३ कार्तिक २६ गते बुधवार
  • Preeti To Unicode

जेन–जी आन्दोलनमा घुसपैठ गर्ने योजनाकारमाथि कारबाही गर्न शङ्कर पोखरेलको माग

जेन–जी आन्दोलनमा घुसपैठ गर्ने योजनाकारमाथि कारबाही गर्न शङ्कर पोखरेलको माग

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको जेन–जी आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गर्दै त्यसमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा घाइते र सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको सत्यतथ्य पहिचान आवश्यक रहेको बताएका हुन्।

उनले जेन–जी युवाले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, सेवा प्रवाह सहज बनाउने तथा सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने मागलाई जायज भन्दै यी विषय सबैको साझा सरोकार भएको उल्लेख गरेका छन्। तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको, बरु नेपालमा दर्ता हुनुपर्ने नीति अघि सारेको भए पनि त्यसबारे स्पष्ट रूपमा बुझाउन नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको उनको भनाइ छ।पोखरेलले नवयुवाको शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखि नै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने सुनियोजित षड्यन्त्र भएको दाबी गर्दै त्यसमा संलग्न योजनाकार तथा षड्यन्त्रकारीलाई कानुनी दायरामा ल्याउनु नै जेन–जी आन्दोलनको वास्तविक भावनाको सम्मान हुने बताएका छन्।उनले वर्तमान सरकार जेन–जी आन्दोलनको भावनाअनुसार नभई आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको आरोपसमेत लगाएका छन्।

यस्तो संवेदनशील अवस्थामा नवयुवाको वास्तविक भावनाको कदर, मुलुकमा सुशासनको प्रत्याभूति र विधिको शासन स्थापना गर्नु प्रमुख आवश्यकता रहेको उनले बताएका छन्।एमाले नवयुवाको भावना र जायज माग सम्बोधन गर्न उनीहरूसँग मिलेर अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्दै पोखरेलले पार्टी हिजो पनि नवयुवाको पक्षमा रहेको, आज पनि रहेको र भविष्यमा पनि रहने दाबी गरेका छन्। विगतमा नवयुवाको भावना र माग सम्बोधनमा केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्न एमाले प्रतिबद्ध रहेको उनको भनाइ छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार