• २०८३ कार्तिक २६ गते बुधवार
  • Preeti To Unicode

भोटेकोशी बाढीप्रति अस्ट्रेलियाको गहिरो दुःख, विदेशमन्त्री वोङले गरे शोक पुस्तिकामा हस्ताक्षर

भोटेकोशी बाढीप्रति अस्ट्रेलियाको गहिरो दुःख, विदेशमन्त्री वोङले गरे शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौं । भोटेकोशी बाढीका कारण भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले विपद्को कठिन घडीमा अस्ट्रेलिया नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताएकी छन्।विदेशमन्त्री वोङले बाढीमा प्रभावित अस्ट्रेलियाली नागरिकको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरेको प्रयासप्रति आभार व्यक्त गर्दै यस विपद्बाट प्रभावित नेपाली जनता र सरकारप्रति गहिरो सहानुभूति प्रकट गरेकी छन्। उनले क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेको जानकारी दिँदै नेपालले अस्ट्रेलियाली नागरिकलाई सहयोग गर्न गरेको प्रयासप्रति अस्ट्रेलिया आभारी रहेको बताएकी छन्।

यसैबीच, सोमबार अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै विदेशमन्त्री वोङले नेपालमा बाढीमा परेका आफ्ना नागरिकको खोजी, उद्धार तथा विपद् प्रतिकार्यका लागि ५० जना अधिकारीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी थिइन्। काठमाडौँ, बेइजिङ, नयाँदिल्ली र क्यानबेरास्थित नियोगमार्फत खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको र काठमाडौँस्थित अस्ट्रेलियाली दूतावासमा परिवार सहायता केन्द्र स्थापना गरिएको उनले बताएकी थिइन्। प्रभावित परिवारलाई परामर्श तथा सहयोग उपलब्ध गराउन अस्ट्रेलियाबाट दुई जना सामाजिक कार्यकर्ता पनि काठमाडौँ आइपुगेका छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि अगस्ट २६ मा आएको बाढीपछि हालसम्म ३६ जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन रहेको संसद्मा जानकारी दिएका छन्। नेपालको राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार संसद्मा बोल्दै उनले नेपाली प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरी गहिरो समवेदना व्यक्त गरेको बताए। प्रधानमन्त्री अल्बानीजले विपद्को यो अकल्पनीय दुःखमा नेपाल एक्लै नरहेको बताउँदै अस्ट्रेलियाले विपद् राहत कोषमार्फत सहयोग जारी राख्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार