काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको छ भने फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएका छन्। हालसम्म १०२ शवको सनाखत भई परिवारले बुझिसकेका छन् भने करिब पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये रसुवाका दुई हजार ८६०, नुवाकोटका एक हजार ९८१ नेपाली तथा करिब ५८७ विदेशी पर्यटक रहेको प्राधिकरणले जनाएको छ। बाढीपछि १३ हजार ५८३ जनाको उद्धार गरिएको छ भने घाइते भएका छ हजार ८२७ जनाको उपचार गरिएको छ। उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन्। प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी तीन हजार ५३३ जनालाई राखिएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना, निजी क्षेत्र र सशस्त्र प्रहरी बलले हेलिकप्टरमार्फत समेत निरन्तर सेवा दिइरहेका छन्। सरकारले रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराउनुका साथै प्रभावित १५ पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ राहत दिएको छ। प्रभावित क्षेत्रमा आवश्यक इन्धन तथा ग्यासको मौज्दात रहेको र विद्युत् सेवा पनि अधिकांश घरधुरीमा पुनः सञ्चालन भइसकेको प्राधिकरणले जनाएको छ। साथै, स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति परिचालन गरी बाढी प्रभावितलाई मनोसामाजिक परामर्श सेवा प्रदान भइरहेको छ।