• २०८३ भाद्र २३ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाल नेत्रज्योति सङ्घलाई डब्लुएचओको ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’

नेपाल नेत्रज्योति सङ्घलाई डब्लुएचओको ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयबाट ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ प्राप्त गरेको छ। तिमोर–लेस्तेको राजधानी दिलीमा आयोजित डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कमिटीको ७९औँ बैठकमा डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रियससले सङ्घका अध्यक्ष प्रा. डा. चेतराज पन्तलाई उक्त सम्मान प्रदान गरेका हुन्।नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सर्वसुलभ, समतामूलक र विपन्न एवं पहुँचबाट बाहिर रहेका समुदायमा आँखा स्वास्थ्य सेवा विस्तारमा सङ्घले पुर्‍याएको योगदानको कदर गर्दै पहिलोपटक उक्त सम्मान प्रदान गरिएको डब्लुएचओले जनाएको छ। सार्वजनिक स्वास्थ्य क्षेत्रमा प्रभाव, नवीनता, विस्तारयोग्यता, दिगोपन र समतामूलक पहुँचलगायतका आधारमा वरिष्ठ डब्लुएचओ विज्ञ सम्मिलित छनोट समितिले पुरस्कारका लागि सङ्घलाई छनोट गरेको हो।

नेपाल नेत्रज्योति सङ्घले विगत करिब पाँच दशकदेखि नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि निरन्तर काम गर्दै आएको छ। देशभर विस्तार गरिएको आँखा अस्पताल तथा उपचार केन्द्रको सञ्जाल, समुदायस्तरमा सञ्चालन हुने आँखा उपचार तथा शल्यक्रिया शिविर, पहुँचभन्दा बाहिर रहेका समुदायमा सेवा विस्तार तथा प्राथमिक स्वास्थ्य सेवासँग आँखा स्वास्थ्यलाई एकीकृत गर्ने प्रयासमार्फत सङ्घले दृष्टि पुनःस्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार हालसम्म सङ्घले पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ। सङ्घअन्तर्गत हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा र २२६ आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन्। यी संस्थामार्फत नेपालीसँगै विभिन्न विदेशी नागरिकलाई समेत आँखा उपचार सेवा प्रदान हुँदै आएको छ।सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले समुदायको सहभागिता, साझेदारी र स्थानीय आवश्यकतामा आधारित सेवामार्फत सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सङ्घले काम गरिरहेको बताए। आर्थिक तथा भौगोलिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गरी निःशुल्क तथा सहुलियतपूर्ण आँखा उपचार र शल्यक्रिया सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिइएको उनको भनाइ छ।डब्लुएचओका अनुसार नेपालमा अन्धोपनको अवस्था सन् १९८१ मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०/२१ सम्ममा घटेर ०.२८ प्रतिशतमा पुगेको छ। यस वर्ष सार्वजनिक स्वास्थ्य विधाका लागि १०२ वटा मनोनयन परेकोमा विभिन्न मापदण्डका आधारमा नेपाल नेत्रज्योति सङ्घसहित थाइल्याण्डका डा. नित्ताया फानुफाक र भारतका डा. के. सुरेशकुमारलाई सम्मान गरिएको हो।

सङ्घले प्राप्त गरेको यो सम्मानलाई नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सबैका लागि गुणस्तरीय र पहुँचयोग्य आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न गरिएको निरन्तर प्रयासको अन्तर्राष्ट्रिय मान्यताका रूपमा लिएको छ। महासचिव चन्दले अवार्डलाई सङ्घसँग आबद्ध चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक, जिल्ला शाखा, आँखा अस्पताल तथा उपचार केन्द्र, तीनै तहका सरकार, विकास साझेदार, दातृ संस्था, स्थानीय समुदाय तथा शुभेच्छुकहरूको सामूहिक योगदानको सम्मानका रूपमा लिएको बताए।यसैबीच, नेपाल नेत्रज्योति सङ्घले गत आर्थिक वर्षमा विदेशी बिरामीमार्फत एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याएको जनाएको छ। विदेशी नागरिकलाई समेत गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको सङ्घको गतिविधिले नेपालमा स्वास्थ्य पर्यटनको नयाँ सम्भावनासमेत सिर्जना गरेको जनाइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार