काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी जनतासँगको सम्बन्धबाट टाढिँदा कमजोर बनेको बताएका छन्। एमाले नेता–कार्यकर्ताको परिचालनमा केन्द्रित हुनुपर्नेमा पार्टी नेतृत्व सीडीओ, प्रहरी तथा प्रशासकीय अधिकृतको सरुवाजस्ता विषयमा बढी केन्द्रित हुँदा जनसम्बन्ध कमजोर भएको उनको स्वीकारोक्ति छ।मंगलबार मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रममा बोल्दै पूर्वउपमहासचिव ज्ञवालीले एमालेको कार्यशैली सरकारी र ‘राजर्षी’ बनेको टिप्पणी गरे। “एमाले जनपरिचालन गर्ने पार्टी हो, तर हाम्रो कार्यशैली सरकारी भयो। राजर्षी भयो,” उनले भने, “हाम्रो ध्यान सीडीओ सरुवा, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो। यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो। यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ।”
ज्ञवालीले फागुनमा भएको निर्वाचनमा एमालेले कमजोर नतिजा ल्याउनुमा पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु पनि प्रमुख कारण रहेको बताए। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, समूह–उपसमूहको निर्माण तथा निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढ्न नसक्दा यस्तो अवस्था आएको उनको भनाइ थियो। “गत वर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो, तर यस वर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ,” उनले भने।उनले एमाले जनताका मुद्दाबाट टाढिँदा संविधान मिचिँदा वा पार्टी नेतामाथि सरकारले ज्यादती गर्दा समेत जनताले सडकमा आएर साथ नदिएको बताए। २०७९ को निर्वाचनपछि जनताले एमालेलाई सत्ताभोगी पार्टीका रूपमा बुझ्न थालेको उल्लेख गर्दै उनले २०७९ देखि २०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण परिवर्तन गरेको बताए।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने र केही समयपछि बाहिरिने तथा पुनः सोही सरकारमा सहभागी हुने निर्णयको कारण जनतालाई स्पष्ट पार्न नसकिएको ज्ञवालीले बताए। “आखिर प्रचण्ड सुध्रिएर हामी सत्तामा गएका थियौँ कि हामी सुध्रिएर?” भन्दै उनले यसको जवाफ अझै पनि जनताले खोजिरहेको बताए। प्रचण्ड सरकारबाट हठात् बाहिरिएर कांग्रेससँग सहकार्य गर्दा जनतामा नकारात्मक सन्देश गएको उनको भनाइ थियो।ज्ञवालीले अब एमालेले जनताका समस्या पहिचान, उठान र समाधानका लागि प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। एमालेको मधेस प्रदेशस्तरीय भेला महोत्तरीमा जारी छ।