काठमाडौँ । कृष्णभीरमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सडकको तल्लो भाग कटान भएपछि भदौ १३ गतेदेखि राजमार्ग बन्द रहेको हो। पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा र लुम्बिनी जाने पर्यटक बसहरू काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीमै रोकिँदा पर्यटन व्यवसायी तथा मजदुर प्रभावित भएका छन्।पर्यटक बस एसोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्मप्रसाद न्यौपानेका अनुसार कृष्णभीरको सडक अवरुद्ध हुँदा ठूला पर्यटक बस सञ्चालन गर्न सकिएको छैन। चितवन–हेटौँडा–फर्पिङ हुँदै साना पर्यटक बस फाट्टफुट्ट सञ्चालन भए पनि ठूला बसलाई वैकल्पिक साँघुरो सडकमा घुम्ती काट्न समस्या हुने भएकाले सञ्चालन गर्न नसकिएको उनले बताए। राजमार्ग अवरुद्ध हुँदा यसको प्रत्यक्ष असर पर्यटक, व्यवसायी र मजदुरमा परेको छ।
सडक अवरुद्ध भएपछि यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भएका छन्। पृथ्वी राजमार्ग बन्द हुँदा चितवनको भरतपुर र कास्कीको पोखरा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको चाप बढेको छ। यती एयरलाइन्सले काठमाडौँ–पोखरा उडान दैनिक ६ बाट बढाएर १० पुर्याएको छ। एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार भोटेकोशी बाढीपछि काठमाडौँबाट पोखरा जाने हवाई यात्रुको सङ्ख्या अघिल्लो अवस्थाको तुलनामा करिब ५० प्रतिशतले बढेको छ।त्यस्तै, भरतपुर–काठमाडौँ हवाई यात्रामा पनि उल्लेख्य वृद्धि भएको छ। बुद्ध एयरले सामान्य अवस्थामा दैनिक पाँच उडान गर्दै आएकोमा सडक असहज बनेपछि उडान सङ्ख्या बढाएर अहिले काठमाडौँ–भरतपुर दैनिक ९ देखि ११ पुर्याएको छ। भरतपुरमा चितवनबाहेक नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन्।
सडक अवरुद्ध भएपछि समग्र हवाई भाडासमेत करिब ४० प्रतिशतले बढेको एयरलाइन्स कम्पनीहरूले बताएका छन्। चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्ग प्रयोग गर्न सकिने भए पनि वर्षायाममा सडकको अवस्था असहज भएकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिएका छन्। यसले यात्रुको समय र खर्च दुवै बढाएको छ।यसैबीच, बाढीका कारण क्षतिग्रस्त कृष्णभीर सडकखण्डमा नयाँ ट्रयाक खोल्ने काम तीव्र गतिमा भइरहेको छ। मलेखु–मुग्लिङ सडकखण्डका सहायक आवासीय इञ्जिनियर अशोक देवकोटाका अनुसार दिनरात काम गरेर नयाँ ट्रयाक खोल्ने प्रयास भइरहेको छ र चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। नियमित राजमार्ग सञ्चालनमा नआउँदासम्म यात्रुहरूले लामो यात्रा, बढेको भाडा, वैकल्पिक मार्गको जोखिम र थप सास्ती व्यहोर्नुपरेको छ।