जेनजी आन्दोलनका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न प्रचण्डको माग

जेनजी आन्दोलनका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न प्रचण्डको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट तथा विध्वंसका घटनाबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन्।

जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनको मूल भावना र त्यसपछि भएका हिंसात्मक घटनालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताएका छन्। युवाहरूमा रहेको जायज असन्तुष्टिलाई हिंसा, लुटपाट र विध्वंसमा परिणत गर्ने नियोजित प्रयास भएको उनको दाबी छ।

प्रचण्डले २४ भदौमा सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालयलगायतका संवेदनशील तथा ऐतिहासिक संरचनामा भएको आगजनी र तोडफोडप्रति गम्भीर आपत्ति जनाएका छन्। सरकारी तथा प्रहरी कार्यालयसँगै राजनीतिक दलका कार्यालय र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिलाई पनि उनले गम्भीर घटनाका रूपमा उल्लेख गरेका छन्।

उनले ती घटनालाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ का रूपमा चित्रित गर्दै घटनाको वास्तविकता बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्। आन्दोलनको उद्देश्य, त्यसमा सहभागी युवाको असन्तुष्टि तथा त्यसपछि भएका हिंसात्मक गतिविधिलाई छुट्टाछुट्टै ढंगले अध्ययन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रचण्डका अनुसार घटनाको सत्यतथ्य बाहिर ल्याउन राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर स्वतन्त्र र विश्वसनीय अनुसन्धान आवश्यक छ। दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने र निर्दोषलाई अनावश्यक रूपमा आरोपित गर्न नहुने उनको धारणा छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार