विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी मंगलबार पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार सुनसरी, रौतहट, सिन्धुली, पाल्पा र बाँकेमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–स्थित गुराँसचोकमा कोशी राजमार्गमा रोकिराखेको को ८ प ३३३३ नम्बरको मोटरसाइकलले १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा मोटरसाइकल चालक ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, रौतहटको सिमरी जंगलस्थित धनसर–जंगलसैयामा नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा चालक संजय घिसिङको उपचारका क्रममा मृत्यु भएको छ ।

यता, सिन्धुलीको हरिहरपुरगढीस्थित मदन भण्डारी राजमार्गमा बा.प्र. ०३–००१ ख १८१४ नम्बरको मिनी ट्रकले पैदलयात्री माइते राईलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । पाल्पाको सिद्धार्थ राजमार्गमा बा.४६ प ८७०२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि खोल्सामा खस्दा मोटरसाइकलमा पछाडि सवार तिनाउका २७ वर्षीय युवराज दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकेमा भएको दुर्घटनामा पनि एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण भने सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार