काठमाडौँ । भोटेकोशी बाढीपीडितका लागि वितरण गर्न तयार पारिएका राहत खाद्य सामग्रीको गुणस्तर तथा स्वच्छता परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थलगत अनुगमन गरेको छ।विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्मासहितको टोलीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम काठमाडौँको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा भण्डारण गरिएका राहत सामग्रीको निरीक्षण गरेको हो। टोलीले तीनवटा भण्डारण स्थलमा पुगेर राहत सामग्रीको विस्तृत निरीक्षण गरेको विभागले जनाएको छ।अनुगमनका क्रममा बाढीपीडितका लागि पठाउन तयार पारिएका जिरा चामल, लोकल पोखरेली चामल, चिउरा, चाउचाउ, भुजा, बिस्कुट, आँपको जुस तथा आयोडिनयुक्त नुनलगायत खाद्य वस्तुको गुणस्तर र स्वच्छता जाँच गरिएको थियो।
विभागका अनुसार निरीक्षण गरिएका अधिकांश प्याकेटबन्द खाद्य पदार्थको अवस्था सन्तोषजनक पाइएको छ। ती सामग्रीमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना स्पष्ट रूपमा उल्लेख हुनुका साथै उपभोग्य म्यादसमेत कायम रहेको पाइएको थियो।तर राहतका रूपमा संकलन गरिएको उसिना चामल र मसिना चामल भने कुनै पनि लेबलबिना खुला अवस्थामा राखिएको भेटिएको विभागले जनाएको छ। खुला रूपमा राखिएका खाद्यान्नको स्रोत, उत्पादन विवरण तथा गुणस्तर यकिन गर्न कठिन हुने भएकाले विभागले यसप्रति चासो देखाएको हो।
निरीक्षणपछि विभागले राहत सामग्री वितरण गर्दा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्न ‘असल वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न सम्बन्धित निकाय तथा व्यवस्थापकलाई निर्देशन दिएको छ।विपद्को समयमा पीडित नागरिकसम्म सुरक्षित र गुणस्तरीय खाद्य सामग्री मात्र पुगोस् भन्ने उद्देश्यले राहत सामग्रीको अनुगमनलाई प्राथमिकतामा राखिएको विभागले जनाएको छ।