बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल कनेक्टिभिटी जोड्न सांसद कँडेलको माग

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल कनेक्टिभिटी जोड्न सांसद कँडेलको माग

काठमाडौँ । नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार प्रभावकारी बनाउन तत्काल सञ्चार र यातायात कनेक्टिभिटी पुनःस्थापना गर्न सरकारसँग माग गरेका छन्। बुधबार सङ्घीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै उनले सडक र पुल नहुँदा प्रभावित क्षेत्रमा राहत पुर्‍याउन कठिनाइ भइरहेको भन्दै झोलुङ्गे पुल, बेलीब्रिज वा पक्की पुलमध्ये सम्भव विकल्प तत्काल निर्माणलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए। त्रिशूली नदी वारिपारिको सम्पर्क टुट्दा धादिङ र रसुवाका विभिन्न क्षेत्र ‘कट अफ’ भएको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रमा राहत पुर्‍याउनुअघि सञ्चार र सम्पर्क सञ्जाल जोड्नुपर्नेमा जोड दिए। विपद्का बेला विदेशी ऋणभन्दा अनुदान सहायता परिचालनमा जोड दिन आग्रह गर्दै उनले राहत वितरणमा एकातिर स्रोत थुप्रिने र अर्कोतिर प्रभावितले नपाउने अवस्था आउन नदिन सरकार सचेत हुनुपर्ने बताए। राष्ट्रिय योजना आयोगले गर्न लागेको विपद्पछिको आवश्यकता आकलन यथार्थपरक हुनुपर्ने भन्दै उनले विगतजस्तो कर्मकाण्डी प्रतिवेदन नभई क्षतिको वास्तविक र तथ्यपरक विवरण सार्वजनिक गर्न माग गरे। साथै, जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा भाषण मात्र गरेर नपुग्ने भन्दै जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे विज्ञका अध्ययन तथा प्रमाण प्रस्तुत गरेर अन्तर्राष्ट्रिय सहयोगका लागि दाबी गर्नुपर्ने बताए। बाढीपहिरोका कारण बालबालिकाको शिक्षा र नागरिकको स्वास्थ्यमा समेत गम्भीर असर परेको उल्लेख गर्दै उनले विद्यालयलाई होल्डिङ सेन्टर बनाइएको र कतिपय क्षेत्रमा नदी तर्ने पुलसमेत नरहेको अवस्थामा शिक्षा तथा स्वास्थ्य सेवा सुचारु गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए। विपद् व्यवस्थापन तथा आर्थिक स्रोत जुटाउन अर्थ मन्त्रालयले दातृ निकायहरूसँग तत्काल सामूहिक बैठक आयोजना गर्नुपर्ने सुझावसमेत सांसद कँडेलले दिएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार