काठमाडौँ। सातदोबाटोमा निर्माण गरिएको जेनजी सहिद पार्कको शालिक अनावरण कार्यक्रम सहिदका आफन्तको विरोधपछि स्थगित भएको छ। शालिकको अनुहार सहिदको वास्तविक अनुहारसँग नमिलेको भन्दै आफन्तहरूले अनावरण गर्न असहमति जनाएपछि उद्घाटनका लागि पुगेका गृहमन्त्री सुदन गुरुङ कार्यक्रमस्थलबाटै फर्किएका छन्।सहिदका आफन्तहरूले शालिक निर्माणमा गम्भीर लापरबाही गरिएको आरोप लगाउँदै आफूहरूलाई कार्यक्रमबारे अन्तिम समयमा मात्रै जानकारी दिइएको बताएका छन्। उनीहरूले शालिक निर्माण सम्पन्न भएको विषयमा समेत परिवारलाई जानकारी नदिइएको र सहमति नलिई अनावरण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। स्थायी रूपमा रहने शालिक निर्माणमा गुणस्तर र सहिदको वास्तविक स्वरूपलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ।
आफन्तहरूले शालिकको अनुहार सहिदसँग मिल्दोजुल्दो नबनाएसम्म अनावरण गर्न नदिने अडान लिएका छन्। उनीहरूका अनुसार सहिदको सम्मानसँग जोडिएको विषय भएकाले हतारमा कार्यक्रम गर्नुको सट्टा शालिकलाई पूर्ण रूपमा सुधार गरेर मात्रै अनावरण गर्नुपर्छ।कार्यक्रमस्थलमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पनि शालिक पूर्ण रूपमा तयार नभएसम्म अनावरण गर्न नहुने बताएका छन्। उनका अनुसार सातदोबाटोमा जेनजी पार्क निर्माणको अवधारणा तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारकै पालामा अघि बढाइएको थियो। आफू त्यतिबेला सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रहेको र तत्कालीन युवा तथा खेलकुदमन्त्री बबलु गुप्ताको सक्रियतामा पार्क निर्माणको काम अघि बढेको उनले बताए।
खरेलले पार्क निर्माणको काम करिब अढाई महिनामा सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्वाचनका कारण केही समय रोकिएको जानकारी दिए। पार्क निर्माण लगभग सम्पन्न भए पनि फिनिसिङ तथा शालिक निर्माणमा केही काम बाँकी रहेको उनले बताए। सहिदको अनुहार मिलाउने जिम्मेवारी सम्बन्धित निर्माणकर्ताकै भएकाले शालिक पूर्ण रूपमा तयार भएपछि र परिवारले समेत स्वीकार गरेपछि मात्रै परिपक्व ढङ्गले अनावरण गर्नुपर्ने उनको धारणा छ।सहिदका आफन्तले शालिकको स्वरूपप्रति असहमति जनाउँदै अनावरण गर्न नदिएपछि कार्यक्रम अन्ततः स्थगित भएको हो। पार्क बन्ने सुनिश्चित हुनु सकारात्मक पक्ष भए पनि केही समय लिएर पार्क तथा शालिकलाई गुणस्तरीय र सहिदको सम्मानअनुकूल बनाउनुपर्ने सरोकारवालाहरूको जोड छ।