बाढीपीडितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग

बाढीपीडितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउँदै उद्धार तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको शून्य समयमा बोल्दै सांसदहरूले विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउनसमेत सरकारसँग माग गरेका हुन्।सांसद कृष्णबहादुर रोकायले रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीबाट बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक तथा अशक्त र जोखिममा रहेका समूह बढी प्रभावित भएको भन्दै उनीहरूलाई लक्षित गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न माग गरे ।

त्यसैगरी सांसद घनश्याम रिजालले विपद्का समयमा उद्धार, राहत र पुनःस्थापनाका काम प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच थप समन्वय आवश्यक रहेको बताए। उनले जोखिममा रहेका हिमतालमा पूर्वसूचना प्रणाली जडान गरी सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि विशेष पहल गर्न सरकारको ध्यानाकर्षण गराए।सांसद पदमबहादुर परिवारले कृष्णभीरमा पहिरो गएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको बताए। उनले काठमाडौं–नुवाकोट आवागमनलगायत सडक सम्पर्कमा देखिएका समस्याको स्थायी समाधान खोज्नुपर्ने तथा हवाई यातायातको भाडा महँगिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए।सांसद पूजा चौधरीले सामाजिक सञ्जालमार्फत भोटेकोशी बाढीपीडित महिलामाथि गालीगलौज तथा दुर्व्यवहार गर्ने व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरिन्।

सांसद रुक्मिणी कोइरालाले बाढीपीडितलाई छिटोभन्दा छिटो राहत वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन्। त्यस्तै, सांसद विष्णुकुमारी सापकोटाले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै सहज आपूर्ति तथा वितरणका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद विष्णुदेवी पुडासैनीले पनि बाढीपीडितलाई अत्यावश्यक सामग्री समयमै पुर्‍याउने व्यवस्था मिलाउन आग्रह गरिन्।शून्य समयमा सांसदहरू विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द र श्रीकृष्णप्रसाद अधिकारीले पनि समसामयिक विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार