रसुवा बाढीबारे सर्वदलीय संसदीय विशेष समिति गठन गर्न रवि लामिछानेको प्रस्ताव

रसुवा बाढीबारे सर्वदलीय संसदीय विशेष समिति गठन गर्न रवि लामिछानेको प्रस्ताव

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको विनाशकारी बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिका रूपमा घोषणा गर्न सरकारसँग प्रस्ताव गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले बाढीबाट भएको क्षति, यसको कारण तथा प्रभावको अध्ययन गरी अन्तर्राष्ट्रियस्तरमा समेत विषय उठाउन सर्वदलीय संसदीय विशेष समिति गठन गर्नुपर्ने बताएका हुन्।

लामिछानेले बाढीपछिको विपद्को अवस्थासँग प्रभावकारी रूपमा जुध्न तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिँदै दीर्घकालीन समाधानका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए। उनले यसअघि भदौ १० गते विनाशकारी बाढीपछि सर्वदलीय बैठकसमेत आयोजना गरेका थिए। उक्त बैठकमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी भएका थिए। बैठकले १० बुँदे सङ्कल्प गर्दै दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन गर्ने विषयसमेत समेटेको थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार