काठमाडौं । रसुवाको पुङ खोलामा बाढीका कारण क्षतिग्रस्त सडक तथा बेलिब्रिज खुलाउन श्रम संस्कृति पार्टीका ३४ जना श्रमदाता केन्द्रीय सचिव प्रसाद राईको नेतृत्वमा रसुवा प्रस्थान गरेका छन्। उनीहरू चारवटा क्यारियर गाडीमा जेनेरेटर, ड्रिल, टेन्ट, गैंती, बेल्चालगायतका आवश्यक उपकरण तथा खाद्यान्न बोकेर रसुवातर्फ लागेका हुन्। भोटेकोशीमा आएको बाढीका कारण भोटेकोशीको सहायक पुङ खोलामा रहेको बेलिब्रिज र सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। उक्त स्थानमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ नेतृत्वको टोली हिजोदेखि नै बाटो खुलाउन सक्रिय रूपमा खटिरहेको छ। थप श्रमदाता तथा आवश्यक उपकरणसहितको टोली पुगेपछि अवरुद्ध सडक खुलाउने कामले तीव्रता पाउने सचिव राईले बताएका छन्। ‘हामी आज नै रसुवा पुग्ने गरी हिँडिरहेका छौँ। त्यहाँ पुगेपछि बाटो खुलाउने कामले झनै तीव्रता पाउनेछ,’ उनले भने।