जनकपुरधाम । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आव २०८२/८३ सम्म जनता आवास कार्यक्रमअन्तर्गत २० हजार ३७८, महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत दुई हजार ४१२ र विपन्नसँग मदन भण्डारी आवास कार्यक्रमअन्तर्गत चार हजार ७८ आवास निर्माण भएका छन् । यस अवधिमा ८५६ सरकारी भवन, २९१ सामुदायिक भवन र ६८ धर्मशालासमेत निर्माण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी रोहित जोशीका अनुसार प्रदेशका आठवटै जिल्लामा आवश्यकता र प्राथमिकताका आधारमा ती संरचना निर्माण गरिएको हो ।
जनता आवास कार्यक्रमअन्तर्गत मात्रै आव २०७७/७८ मा नौ हजार ४५, २०७८/७९ मा दुई हजार ७२८, २०७९/८० मा छ हजार ३९३, २०८०/८१ मा ११५, २०८१/८२ मा एक हजार ६४८ र २०८२/८३ मा १९० आवास निर्माण भएका छन् । यसबाट विपन्न तथा दलित परिवारले वर्षा, हावाहुरी तथा अन्य प्राकृतिक जोखिमबाट जोगिने सुरक्षित आवास पाएका छन् । त्यस्तै, सरकारी कार्यालयका लागि आवश्यक भवन निर्माणलाई पनि प्राथमिकता दिइएको छ । आव २०७७/७८ देखि २०८२/८३ सम्म ८५६ सरकारी भवन निर्माण सम्पन्न भएका छन् । आव २०७७/७८ मा नौ, २०७९/८० मा तीन, २०८०/८१ मा २३८, २०८१/८२ मा ३१७ र २०८२/८३ मा २८९ सरकारी भवन निर्माण भएको मन्त्रालयले जनाएको छ ।
गाउँटोलमा विवाह, बैठक, सामाजिक कार्यक्रम तथा अन्य सामुदायिक गतिविधि सञ्चालनका लागि २९१ सामुदायिक भवन निर्माण भएका छन् । आव २०७७/७८ मा ९७, २०७८/७९ मा २७ र २०७९/८० मा १६७ सामुदायिक भवन निर्माण गरिएको हो । यसैगरी विवाह, व्रतबन्धलगायत सामाजिक तथा सांस्कृतिक कार्यक्रमका लागि ६८ धर्मशाला निर्माण भएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता प्रविणप्रताप अधिकारीले आधारभूत भौतिक पूर्वाधारको विकासमार्फत नागरिकलाई सहज सेवा, सुरक्षित आवास तथा सामाजिक गतिविधिका लागि आवश्यक संरचना उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताए । “पूर्वाधार विकासलाई नागरिकको सामाजिक तथा आर्थिक समृद्धिसँग जोडेर सरकारले काम गरिरहेको छ,” उनले भने ।