• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

बाढीपहिरो प्रभावितका लागि प्युठानका ४० निजी विद्यालयद्वारा १२ लाख ८२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि प्युठानका ४० निजी विद्यालयद्वारा १२ लाख ८२ हजार सहयोग

प्युठान । रसुवाको भोटेकोशी क्षेत्र हुँदै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्युठानका ४० संस्थागत विद्यालयले १२ लाख ८२ हजार ७०८ रुपैयाँ सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) प्युठानमार्फत संकलन गरिएको उक्त रकम प्याब्सनको केन्द्रीय कार्यालय हुँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने प्याब्सन प्युठानका सचिव शरद गौतमले जानकारी दिए। उनका अनुसार प्याब्सनको केन्द्रीय सर्कुलरअनुसार बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि रकम संकलन गरिएको हो। प्याब्सन प्युठानका अध्यक्ष दीपेन्द्र जिसीले विपत्तिका बेला निजी विद्यालयहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताए। ‘महाविपत्तिको यो समयमा निजी विद्यालयका तर्फबाट केही भए पनि राहत मिलोस् भनेर सहयोग गरिएको हो,’ उनले भने। प्याब्सन प्युठानले यसअघि पनि भूकम्प, कोभिड–१९ तथा बाढीपहिरोलगायत प्राकृतिक तथा मानवीय विपत्तिका समयमा सहयोग गर्दै आएको जनाएको छ। संघले बाढीपहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते एवं प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार