काठमाडौं । नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रन तथा बसिर अहमदले ४७ रन बनाए । ओपनर देव खनालले १३ र आसिफ शेखले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए ।
१४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरसामु निरीह बन्दै १८.१ ओभरमा ६० रनमै अलआउट भयो । ओमानका लागि जतिन्दर सिंहले २५ र जितेन रमानन्दीले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए ।यस जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । युएईले हङकङलाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको उपाधि जित्ने टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।