• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

बजेट खुम्चिँदा चितवनका कृषि कार्यक्रम ओझेलमा

बजेट खुम्चिँदा चितवनका कृषि कार्यक्रम ओझेलमा

नारायणगढ (चितवन)। चितवनमा कृषि बजेटको आकार बर्सेनि खुम्चिँदै जाँदा किसानका आधारभूत तथा प्राथमिकता प्राप्त कार्यक्रम ओझेलमा पर्न थालेका छन्। बजेट अभावका कारण व्यावसायिक तरकारी तथा फलफूल खेती, माटो सुधार, जैविक मल प्रवर्द्धन र कृषिउपज बजारीकरणजस्ता महत्वपूर्ण कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन हुन सकेका छैनन्। कृषि विकास कार्यालय चितवनले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बजेटमा भएको तीव्र कटौतीका कारण जिल्लाका प्रमुख कृषि उपक्षेत्रलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकिएको जनाएको हो।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा रु २४ करोड १३ लाखभन्दा बढी रहेको प्रादेशिक बजेट चालु आवमा घटेर रु चार करोड १५ लाख ७२ हजारमा सीमित भएको छ। विनियोजित बजेटमध्ये रु एक करोड ७९ लाख सात हजार प्रशासनिक तथा उपभोगतर्फ खर्च हुने भएकाले प्रत्यक्ष कृषि विकासका लागि रु दुई करोड ३६ लाख ६५ हजार मात्र उपलब्ध छ। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले बजेट निरन्तर घट्दै जाँदा किसानका आवश्यकता र मागअनुसार कार्यक्रम सञ्चालन गर्न कठिन भएको बताए। उनका अनुसार बजेट सीमित हुँदा जिल्लाका धेरैजसो बाली प्रवर्द्धनका कार्यक्रम यसपटक समेट्न सकिएको छैन।बजेट अभावका कारण व्यावसायिक तरकारीखेती, फलफूल, आलु, मकै, गहुँ तथा पुष्प व्यवसाय प्रवर्द्धनका कार्यक्रम सञ्चालन हुन सकेका छैनन्। त्यस्तै माटो सुधार, प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धन, बाली संरक्षण, माटो परीक्षणसम्बन्धी प्रयोगशाला सेवा, कृषि उपज बजारीकरण, मूल्य शृङ्खला विकास तथा कृषि तथ्याङ्क सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रमसमेत छुटेका छन्। पर्याप्त बजेट नहुँदा कार्यालयले चालु आवमा सीमित प्राथमिकताका कार्यक्रम मात्र सञ्चालन गर्ने भएको छ।

प्रादेशिक र सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाबाट स्वीकृत बजेटमध्ये कृषि विकास तथा व्यवसाय प्रवर्द्धन कार्यक्रमतर्फ सबैभन्दा बढी रु एक करोड ९७ लाख विनियोजन गरिएको छ। सिँचाइ आधुनिकीकरणतर्फ रु ५८ लाख ३३ हजार, कृषि प्रसार तथा प्रविधि विस्तारमा रु १७ लाख, बाली विकास तथा बीउबिजनमा रु १२ लाख ५० हजार, बाली संरक्षणमा रु छ लाख ४० हजार र अन्तरनिकाय समन्वयात्मक कार्यक्रमका लागि रु तीन लाख ७५ हजार विनियोजन गरिएको छ।कार्यक्रममा बागमती प्रदेशको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधीर श्रेष्ठले सङ्घीयता कार्यान्वयनको सुरुआती चरणमा चितवन कृषि बजेटको प्राथमिकतामा परेको जिल्ला भए पनि पछिल्ला वर्षमा बजेट उल्लेख्य रूपमा घट्दै गएको बताए। आफू सङ्घीयता कार्यान्वयनअघि कार्यालय प्रमुख र सङ्घीयता लागू भएपछि पहिलो कार्यालय प्रमुखका रूपमा चितवनमा कार्यरत रहेको स्मरण गर्दै उनले सुरुआती वर्षमा कार्यालयको बजेट करिब रु ४० करोड पुगेको बताए। उनका अनुसार प्रदेश सरकारको कृषि क्षेत्रको समग्र बजेटसमेत सुरुआती वर्षको करिब रु पाँच अर्बबाट चालु आवमा घटेर करिब रु दुई अर्ब ५० करोडमा झरेको छ। त्यसको प्रत्यक्ष प्रभाव जिल्लास्तरसम्म परेको उनको भनाइ थियो।बजेट घट्दै गए पनि उपलब्ध स्रोतसाधनका आधारमा चितवनले प्रदेशभित्र अझै तुलनात्मक रूपमा प्राथमिकता पाइरहेको सचिव श्रेष्ठले बताए। यद्यपि कृषि उत्पादन, किसानको आय वृद्धि र जिल्लाको व्यावसायिक कृषि प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्न पर्याप्त बजेट नहुँदा आगामी दिनमा यसको प्रभाव किसानको उत्पादन र बजारसम्म पुग्न सक्ने देखिन्छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार