जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयबाट गत आर्थिक वर्षमा जिल्लाका आठ स्थानीय तहका ९०४ जनाले जन्म तथा मृत्युका बेला दिइने ३० केजी अनुदानको चामल प्राप्त गरेका छन्। कार्यालयका अनुसार जन्मतर्फ ५५८ जना र मृत्युतर्फ ३४६ जनाले उक्त सुविधा लिएका हुन्।चामल लिने सेवाग्राहीमध्ये जन्मतर्फ ५०९ जनाले मोटा चामल र ३११ जनाले जिरो मसिनो चामल लिएका छन्। मृत्युतर्फ भने ४९ जनाले मोटा चामल र ३५ जनाले जिरो मसिनो चामल प्राप्त गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले जानकारी दिए।
जन्म र मृत्युका अवसरमा गत आर्थिक वर्षमा रु. १९ लाख ७२ हजार बराबरको २७१ क्विन्टल चामल वितरण गरिएको छ। चामल वितरणका क्रममा ज्याला खर्चबापत रु. ४ लाख २८ हजार ५०० खर्च भएको शाखा प्रमुख जोशीले बताए।अनुदानको चामल लिन आउने सेवाग्राहीलाई यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था छ। जन्मतर्फ २२० जनालाई रु. एक हजार र ३८० जनालाई रु. ५०० तथा मृत्युतर्फ १९ जनालाई रु. एक हजार र ३५ जनालाई रु. ५०० यातायात खर्च प्रदान गरिएको कार्यालयले जनाएको छ।
हिमा, सिंजा, तिला र कनकासुन्दरी गाउँपालिकाका स्थानीयले चामलसँगै रु. एक हजार यातायात खर्च पाउने गरेका छन् भने तातोपानी, गुठीचौर, पातारासी र चन्दनाथ नगरपालिकाका स्थानीयलाई रु. ५०० यातायात खर्च दिने व्यवस्था रहेको छ।यो सुविधा लिन जन्मको हकमा ३५ दिनभित्र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र वडा कार्यालयको सिफारिस आवश्यक पर्छ। मृत्युको हकमा मृत्युदर्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस र सेवा लिन आउने सेवाग्राहीको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने खाद्य कम्पनी जुम्लाले जनाएको छ।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विसं २०७३ भदौमा जन्म र मृत्यु हुँदा प्रतिपरिवार निःशुल्क ३० किलो चामल दिने घोषणा गरेको थियो। हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जुम्ला शाखामा करिब १ हजार ९०० क्विन्टल खाद्यान्न मौज्दात रहेको कार्यालयले जनाएको छ।