काठमाडौँ । संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) ले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र यूएनओपीएसका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सारा नेट्जरबीच बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको यूएनओपीएसको उच्चस्तरीय प्राविधिक टोलीले मन्त्री लम्सालसँग बाढीपछिको एकीकृत पुनर्निर्माण र पूर्वाधार विकासबारे छलफल गरेको थियो। भेटमा मन्त्री लम्सालले भदौ १० गते आएको बाढीबाट पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिँदै क्षतिग्रस्त संरचनाको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सरकारका सम्पूर्ण संयन्त्र परिचालित रहेको बताए। उनले जलवायु परिवर्तनका असरलाई ध्यानमा राखेर विकास निर्माणका योजना अघि बढाइएको उल्लेख गर्दै त्रिशूलीलगायत बाढी प्रभावित क्षेत्रमा खानेपानी, अस्थायी आवास र अन्य अत्यावश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए। यूएनओपीएसकी क्षेत्रीय निर्देशक नेट्जरले नेपालको दीर्घकालीन तथा एकीकृत विकासका लागि संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै बाढी प्रभावित क्षेत्रमा खानेपानी, भवन, पुललगायतका पूर्वाधार निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक प्राविधिक र आर्थिक सहयोग गर्न संस्था तयार रहेको स्पष्ट पारिन्। छलफलमा यूएनओपीएसका नेपाल प्रतिनिधि अलेक्जान्ड्रा राडेटिक, दक्षिण एसिया बहुदेशीय निर्देशक चार्ल्स क्यालन, वरिष्ठ पूर्वाधार सल्लाहकार रिको वालेन्टालगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।