काठमाडौँ। गल्छी–त्रिशूली–बेत्रावती सडकखण्डअन्तर्गत बेत्रावतीसम्मको पहुँच मार्ग जोड्ने काम तीव्र गतिमा अघि बढेको छ। कुल ३५ किलोमिटर लामो यस सडकखण्डमा अब करिब एक किलोमिटर मात्र सडकको ट्रयाक खोल्न बाँकी रहेको सडक विभागले जनाएको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार रातामाटे क्षेत्रमा स्थानीयस्तरमा देखिएको अवरोधका कारण केही समय काम प्रभावित भए पनि अहिले समस्या समाधान भई निर्माण कार्य पुनः सुरु भएको छ।
बाँकी रहेको एक किलोमिटर सडकखण्ड भौगोलिक रूपमा निकै अप्ठ्यारो रहेकाले केही समय लाग्न सक्ने भए पनि छिट्टै सडक जोड्ने गरी काम भइरहेको विभागले जनाएको छ। पुरानो सडकमा बाढीका कारण तीनदेखि चार मिटरसम्म लेदो र गेग्रान थुप्रिएकाले त्यसलाई हटाउन लामो समय लाग्ने अवस्था छ। त्यसैले विदुर नगरपालिका–१० अन्तर्गत रातामाटे क्षेत्रमा खेतको बाटो हुँदै वैकल्पिक अस्थायी ट्रयाक खोल्ने प्रयास भइरहेको छ। स्थानीयले मुआब्जाको माग राख्दै गरेको अवरोधसमेत समाधान भइसकेको विभागले जनाएको छ।गल्छीदेखि बेत्रावतीसम्मको सडक जोडिएपछि बेत्रावती हुँदै रसुवाको धुन्चेसम्मको यातायात पहुँच सहज हुने अपेक्षा गरिएको छ। यसले बाढी तथा पहिरोका कारण अवरुद्ध उत्तरी क्षेत्रको सडक सम्पर्क पुनःस्थापनामा समेत महत्वपूर्ण सहयोग पुग्नेछ।
यसैबीच, नुवाकोटको विदुरस्थित देवीघाटमा बाढीले क्षतिग्रस्त बनाएको पक्की पुलको स्थानमा नेपाली सेनाले ६० मिटर लामो बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुर्याएको छ। गत भदौ १० गते चीनतर्फबाट भोटेकोशीमा आएको बाढीका कारण यहाँको ५५ मिटर लामो पक्की पुल बगेको थियो। त्यसैगरी बेत्रावती र त्रिशूली बजारमा करिब ४८ मिटर लामो बेलीब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। बेत्रावतीमा बेलीब्रिज राख्ने फाउन्डेसन निर्माणको कामसमेत सुरु भइसकेको छ।रसुवाको स्याफ्रुबेँशीमा पनि बाढीले पुल बगाएकाले करिब ७५ मिटर लामो बेलीब्रिज आवश्यक पर्ने देखिएको छ। सडक विभाग र नेपाली सेनासँग बेलीब्रिजका सामग्री उपलब्ध भए पनि तल्लो खण्डको सडक नखुलेसम्म ती सामग्री ढुवानी गर्न कठिनाइ भइरहेको छ। यसैबीच चीन सरकारले कोरला नाका हुँदै बेलीब्रिजका आवश्यक सामग्री उपलब्ध गराएको छ। नेपाल सरकारले ती सामग्री आवश्यकता अनुसार रसुवागढी तथा अन्य क्षतिग्रस्त स्थानमा प्रयोग गर्ने जनाएको छ।गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण धादिङ, नुवाकोट र रसुवा जिल्लामा करिब ५५ किलोमिटर सडक तथा ३५ वटा पुलमा पूर्ण क्षति पुगेको छ। सडक विभागको प्रारम्भिक अनुमानअनुसार बाढीबाट भौतिक पूर्वाधारतर्फ मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। सरकारले क्षतिग्रस्त ३५ पुलमध्ये तत्काल अत्यावश्यक तीन स्थानमा बेलीब्रिज जडान गरी अस्थायी रूपमा यातायात सञ्चालनमा ल्याउने रणनीति लिएको छ।