काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नुवाकोटको देविघाटमा बेलिब्रिज निर्माण गरेकोमा नेपाली सेनालाई धन्यवाद दिएका छन्। बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देविघाट पुगेका देउवाले नेपाली सेनासँगको भेटमा विपद्का बेला जनतालाई साथ दिँदै बेलिब्रिज निर्माण गरेर आवतजावत सहज बनाएको भन्दै सेनाको प्रशंसा गरेका हुन्। उनले नुवाकोटका स्थानीयवासी तथा माथिल्लो क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता प्रदान गर्न सेनाले गरेको काम महत्वपूर्ण रहेको बताए। देउवाले नेपाली सेनालाई आगामी दिनमा पनि अझ राम्रो काम गर्न आग्रह गर्दै धन्यवाद व्यक्त गरे। देउवा बिहीबार बिहान डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मोहन बस्नेत, गुरु बराल र कुन्दनराज काफ्लीलगायतका नेताहरूसहित नुवाकोट पुगेका हुन्।