काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई ५ हजार अमेरिकी डलर दिने घोषणा गरेका छन्। करिब २७ करोड वयस्क अमेरिकीलाई उक्त रकम वितरण गर्दा सरकारलाई करिब १.३ ट्रिलियन डलर आवश्यक पर्ने अनुमान गरिएको छ। ट्रम्पले रकमको स्रोत र वितरणको विस्तृत विधि भने स्पष्ट गरेका छैनन्। उपराष्ट्रपति जेडी भान्सले भने ट्रम्पको भन्सार शुल्क कार्यक्रमबाट प्राप्त राजस्वमार्फत यस्तो भुक्तानी सम्भव हुन सक्ने संकेत गरेका छन्। ट्रम्पले रकम अमेरिकाभित्रै खर्च गर्नुपर्ने बताएका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै गरिएको यो घोषणा वित्तीय रूपमा कसरी कार्यान्वयन हुन्छ भन्नेमा प्रश्न उठेको छ। डेमोक्र्याटहरूले घोषणालाई ‘खाली वाचा’ भन्दै आलोचना गरेका छन् भने केही विज्ञले यसको कानुनी तथा व्यावहारिक सम्भावनामाथि समेत प्रश्न उठाएका छन्।