• २०८३ भाद्र २६ गते शुक्रवार
  • Preeti To Unicode

बाढी प्रभावितलाई तत्काल अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग

बाढी प्रभावितलाई तत्काल अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा तथा अस्थायी पुनर्स्थापनाको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद केसीले होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिकाको असुरक्षा र स्वास्थ्य जोखिम बढ्दै गएको भन्दै उनीहरूको संरक्षण, सुरक्षा र उचित व्यवस्थापनमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

सांसद केसीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आवतजावत पूर्ण रूपमा विच्छेद भएकाले तत्काल वैकल्पिक यातायातको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे। बेत्रावतीदेखि गल्छीसम्म सञ्चालनमा रहेका दुईवटा तुइनले मात्र आवतजावतको समस्या समाधान गर्न नसक्ने भन्दै उनले कम्तीमा पाँचवटा बेलीब्रिज यथाशीघ्र निर्माण गर्न माग गरे।

बाढीपीडितको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै केसीले प्रभावित नागरिकलाई यथाशीघ्र सुरक्षित स्थानमा अस्थायी पुनर्स्थापना गर्नुपर्ने बताए। साथै, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्दै उनले विपद्पछिको राहत, उद्धार र पुनर्स्थापनामा राज्यले तीव्रता दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार