• २०८३ भाद्र २६ गते शुक्रवार
  • Preeti To Unicode

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न अमेरिका तयार

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न अमेरिका तयार

काठमाडौं। नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा बोल्डिनले हालैको भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा अमेरिका नेपालको साथमा रहेको बताइन्। उनले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई आवश्यक सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको बताएकी छन्।

भेटमा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकोमा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति आभार व्यक्त गरे। खोज तथा उद्धार कार्य जारी रहेकै अवस्थामा कार्यवाहक राजदूत बोल्डिनले हराइरहेका अमेरिकी नागरिकसहित घटनाका अन्य पीडितको खोजी तथा उद्धारका लागि नेपाल सरकारले गरिरहेको असाधारण प्रयासप्रति धन्यवाद व्यक्त गरेकी अमेरिकी दूतावासले जनाएको छ।अमेरिकी दूतावासका अनुसार उद्धार तथा राहतका लागि अमेरिका नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको छ। अमेरिकी नागरिकको सुरक्षा आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै दूतावासले नेपालको नेतृत्वमा देशभरिका प्रभावित समुदायमा भइरहेको विपद् प्रतिकार्यमा अमेरिकी सहयोगले टेवा पुर्‍याइरहेको जनाएको छ।

अमेरिकाले भोटेकोशी बाढीपछि ४० लाख अमेरिकी डलरभन्दा बढी अर्थात् करिब ६१ करोड रुपैयाँ बराबरको मानवीय सहायता तथा सहयोग परिचालन गरेको छ। उक्त सहयोगमा खाद्यान्न तथा आपत्कालीन राहत, बन्दोबस्तीका सामग्री तथा उपकरण र विपद् प्रभावितको पुनर्लाभका लागि आवश्यक विशिष्टीकृत सामग्री रहेको दूतावासले जनाएको छ।त्यस्तै, पीडितहरूको पहिचान गर्न तथा परिवारलाई जानकारी गराउन नेपाल प्रहरीसँगै एफबीआईका फरेन्सिक विशेषज्ञहरूले काम गरिरहेका छन्। नेपालले बाढीबाट भएको क्षति, विस्थापन र मानवीय आवश्यकताको आकलन गरिरहेका बेला अमेरिकाले नेपालसँग निकट भएर निरन्तर सहकार्य गर्ने अमेरिकी दूतावासले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार