सिजेरियन सेवा बन्द भएपछि तेह्रथुमका गर्भवतीलाई पाँच–छ घण्टाको जोखिमपूर्ण यात्रा

सिजेरियन सेवा बन्द भएपछि तेह्रथुमका गर्भवतीलाई पाँच–छ घण्टाको जोखिमपूर्ण यात्रा

तेह्रथुम । तेह्रथुम जिल्ला अस्पतालमा सिजेरियनमार्फत प्रसूति सेवा बन्द भएपछि गर्भवती महिला र उनका परिवारलाई समस्या हुन थालेको छ। जिल्लामै सिजेरियन सेवा उपलब्ध हुँदै आएको भए पनि आवश्यक चिकित्सकीय जनशक्ति अभाव भएपछि गत असार मसान्तदेखि शल्यक्रियामार्फत प्रसूति गराउने सेवा बन्द भएको हो। सेवा बन्द भएपछि शल्यक्रिया आवश्यक पर्ने गर्भवती महिलालाई धरान, विराटनगरलगायत तराईका अस्पतालमा लैजानुपर्ने बाध्यता भएको छ।तेह्रथुमबाट तराईका अस्पताल पुग्न सडकमार्गबाट पाँचदेखि छ घण्टासम्म लाग्ने भएकाले प्रसूति जस्तो संवेदनशील अवस्थामा गर्भवती महिला र परिवारले लामो तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था आएको छ। जिल्लामै उपचार हुने विश्वासमा अस्पताल पुगेका गर्भवतीलाई शल्यक्रिया आवश्यक परेपछि पुनः अर्को अस्पताल लैजानुपर्ने बाध्यता छ। यसले गर्भवती महिला र परिवारलाई आर्थिक तथा शारीरिक समस्यासँगै समयमै उपचार पाइने हो कि होइन भन्ने चिन्ता थपेको छ। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रबाट आउने महिलाका लागि लामो दूरीको यात्रा थप कठिन हुने गरेको छ।महिला मानव अधिकारकर्मी टंकमाया लिम्बूले सिजेरियन सेवा बन्द हुँदा महिलाहरूले विभिन्न समस्या झेल्नुपरेको बताइन्। प्रसूति जस्तो संवेदनशील अवस्थामा आवश्यक सेवा जिल्लामै उपलब्ध गराउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ। प्रसूतिको समयमा कुन बेला आकस्मिक शल्यक्रिया आवश्यक पर्छ भन्ने निश्चित नहुने भएकाले जिल्लामै अत्यावश्यक सेवा उपलब्ध हुनु जरुरी रहेको उनले बताइन्।

जिल्ला अस्पतालमा सिजेरियन सेवा बन्द हुनुको मुख्य कारण आवश्यक चिकित्सकीय जनशक्तिको अभाव हो। अस्पताल प्रशासनका अनुसार विगत करिब १० वर्षदेखि ‘निक साइमन’ नामक गैरसरकारी संस्थाको सहयोगमा सिजेरियन सेवाका लागि आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो। संस्थाले एमडिजिपी चिकित्सक, मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट गरी छ जना जनशक्ति उपलब्ध गराउँदै आएको थियो। परियोजना समाप्त भएपछि ती जनशक्ति उपलब्ध हुन छाडेपछि आवश्यक जनशक्ति अभावमा सिजेरियन सेवा बन्द भएको हो।लामो समयदेखि जिल्लामै सञ्चालन हुँदै आएको अत्यावश्यक सेवा परियोजना समाप्तिसँगै बन्द भएपछि स्थानीयमा असन्तुष्टि बढेको छ। स्थानीय तेज आपागाईले जिल्लामै उपलब्ध सेवा बन्द हुँदा सर्वसाधारणलाई समस्या परेको बताए। उनले भने, ‘जिल्लामा अस्पताल भएर पनि अप्रेसनका लागि बाहिर जानुपर्ने अवस्था राम्रो होइन। यो सेवा चाँडोभन्दा चाँडो सुचारु हुनुपर्छ।’जिल्ला अस्पतालमा सामान्य अवस्थामा महिनामा ३० देखि ३५ जनासम्मले प्रसूति सेवा लिने गरेका थिए। आर्थिक वर्ष २०८२/८३ मा मात्रै ४४ जनाको सिजेरियनमार्फत प्रसूति गराइएको अस्पतालले जनाएको छ। यसले जिल्लामा सिजेरियन सेवाको आवश्यकता र माग स्पष्ट देखाउँछ। तर सेवा बन्द भएपछि प्रसूति सेवा लिन आउने सेवाग्राहीको संख्या समेत घट्न थालेको अस्पताल प्रशासनले जनाएको छ।

अहिले प्राकृतिक रूपमा सहज प्रसूति हुन सक्ने अवस्थाका गर्भवतीलाई मात्र जिल्ला अस्पतालबाट सेवा दिइँदै आएको छ। शल्यक्रिया आवश्यक पर्ने सम्भावना देखिएमा अन्य अस्पतालमा पठाउनुपर्ने अवस्था छ। जिल्ला अस्पतालका प्रमुख डा. खड्ग लिम्बूका अनुसार सिजेरियन सेवा पुनः सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न पहल भइरहेको छ। तर सेवा कहिलेसम्म नियमित हुन्छ भन्ने स्पष्ट समयसीमा भने तय भइसकेको छैन।जिल्ला अस्पताल तेह्रथुममा जिल्लाका विभिन्न स्थानीय तहसँगै छिमेकी जिल्ला सङ्खुवासभाको धर्मदेवी, मादीलगायत क्षेत्रबाट समेत प्रसूति सेवा लिन आउने गरेका छन्। त्यसैले यहाँको सिजेरियन सेवा बन्द हुनुको असर तेह्रथुममा मात्र सीमित छैन। छिमेकी जिल्लाका ग्रामीण क्षेत्रबाट प्रसूति सेवा लिन आउने महिलासमेत प्रभावित भएका छन्।प्रसूति सेवा अन्य स्वास्थ्य सेवाभन्दा संवेदनशील मानिन्छ। गर्भावस्थाको अवस्था सामान्य देखिए पनि प्रसूतिको समयमा आकस्मिक शल्यक्रिया आवश्यक पर्न सक्छ। यस्तो अवस्थामा बिरामीलाई पाँचदेखि छ घण्टाको यात्रा गराएर अन्यत्र लैजानुपर्ने बाध्यता जोखिमपूर्ण बन्न सक्छ। त्यसैले जिल्लामै सिजेरियन सेवा पुनः सञ्चालन गरी प्रसूति सेवाको पहुँच र विश्वसनीयता कायम गर्न तत्काल आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार