वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल्यकाल बिताएको न्युयोर्कको क्विन्सस्थित घर १९ लाख ३० हजार अमेरिकी डलरमा बिक्री भएको छ । लामो समयसम्म खाली र बेवास्ता गरिएको उक्त घर ढुसी लागेको तथा बिरालाहरू बस्ने अवस्थासम्म पुगेको थियो । पछि घरजग्गा डेभलपर टमी लिनले गत वर्ष ८ लाख ३५ हजार डलरमा खरिद गरी करिब आठ महिनामा थप ५ लाख डलर खर्च गरेर व्यापक पुनर्निर्माण गरेका थिए । पुनर्निर्माणपछि पाँच शयनकक्ष र तीन बाथरुम रहेको घरमा आधुनिक भान्सा, हेरिङबोन शैलीको काठको भुइँ तथा स्पाजस्तै सुविधासहितका बाथरुम थपिएका थिए । ट्रम्प चार वर्षको उमेरसम्म बसेको यो ट्युडर शैलीको घर उनका पिता तथा घरजग्गा व्यवसायी फ्रेड ट्रम्पले सन् १९४० मा जमैका इस्टेट्स क्षेत्रमा निर्माण गरेका थिए । ट्रम्प परिवारले लामो समयदेखि उक्त घरको स्वामित्व राखेको छैन । सन् २०१७ मा ट्रम्प राष्ट्रपति बनेको केही महिनापछि घर २१ लाख ४० हजार डलरमा बिक्री भएको थियो भने पछि ‘ट्रम्प बर्थ होम एलएलसी’ नामक संस्थाले समेत खरिद गरेको थियो । केही समय घर एयरबीएनबीमार्फत भाडामा उपलब्ध गराइएको थियो । सन् २०१९ मा २९ लाख डलर माग मूल्य राखेर पुनः बिक्रीमा राखिए पनि बिक्री हुन सकेको थिएन । पछिल्लो बिक्रीका लागि जुलाईमा अज्ञात खरिदकर्तासँग सम्झौता भएको थियो ।