भोटेकोशी बाढीबाट १८ विद्यालयमा ९३ करोड ७३ लाखको क्षति

भोटेकोशी बाढीबाट १८ विद्यालयमा ९३ करोड ७३ लाखको क्षति

काठमाडौँ । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार विद्यालयका भवन र शैक्षिक सम्पत्तिमा गरी रु ९३ करोड ७३ लाख बराबरको क्षति भएको छ । प्रतिवेदनअनुसार १८ विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन् भने १५२ कोठामा आंशिक र १५६ कोठामा पूर्ण क्षति पुगेको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको एक विद्यालयका दुई भवनका ११ कोठा पूर्णरूपमा क्षतिग्रस्त हुँदा रु ३ करोड ७५ लाख तथा उत्तरगया गाउँपालिकाका तीन विद्यालयका छ भवनका ३६ कोठा पूर्णरूपमा क्षतिग्रस्त हुँदा रु १२ करोड २९ लाख बराबरको क्षति भएको छ । नुवाकोटको विदुर नगरपालिकाका नौ विद्यालयका ३२ भवनमा क्षति पुगेको छ । तीमध्ये ६१ कोठा आंशिक र ८९ कोठा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । विदुरमा मात्रै रु ३६ करोड ६२ लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । धादिङको गल्छी गाउँपालिकाका तीन विद्यालयका १० भवनमा क्षति पुग्दा ७७ कोठा आंशिक र आठ कोठा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । त्यहाँ रु १० करोड ६१ लाख बराबरको क्षति भएको छ । बेनिघाट रोराङ गाउँपालिकाको एक विद्यालयका दुई भवनका १२ कोठा पूर्णरूपमा क्षतिग्रस्त हुँदा रु ४ करोड १० लाख बराबरको क्षति भएको छ । सिद्धलेक गाउँपालिकाको एक विद्यालयका चार भवनका १४ कोठामा आंशिक क्षति पुगेको छ, जसको मूल्य रु १ करोड ४३ लाख बराबर रहेको छ । प्रतिवेदनअनुसार विद्यालयका भवनबाहेक शैक्षिक सामग्री तथा अन्य शैक्षिक सम्पत्तिमा मात्रै रु २४ करोड ९३ लाख बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार