काठमाडौं । जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी नक्कली सुन देखाएर रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन्। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्क बस्दै आएका २८ वर्षीय अनिष थापालाई प्रहरीले टोखा नगरपालिका–९, मिलनटोलस्थित एक गेष्ट हाउसबाट बिहीबार साँझ ६ बजे पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार थापाले विभिन्न व्यक्तिलाई नक्कली सुन देखाएर पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए। उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ। थापा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका बेला गत वर्ष भदौ २४ गते नख्खु कारागारबाट भागेका थिए।