सुनसरी । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर गम्भीर रूपमा भोग्नुपरेको भन्दै जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको मागसहित सुनसरीको रामधुनीमा शनिबार प्रदर्शन गरिएको छ। रामधुनी नगरपालिकाका नागरिक समाज तथा स्थानीय सामाजिक अगुवाको नेतृत्वमा भएको र्यालीमा विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता तथा विद्यार्थी सहभागी भएका थिए। झुम्का बजार क्षेत्र परिक्रमा गरी कोणसभामा परिणत भएको र्यालीमा सहभागीहरूले बाढी, डुबान, पहिरो, अनियमित वर्षा र तापक्रम वृद्धिजस्ता जलवायुजन्य असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए। नेपाल–चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको भीषण हिमबाढीबाट भएको जनधनको क्षतिलाई समेत जलवायु तथा वातावरणीय जोखिमसँग जोड्दै प्रभावित समुदायलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग थियो। प्रदर्शनकारीहरूले ‘हामी जलवायु न्याय चाहन्छौँ’ र ‘वातावरण संरक्षण गरौँ’ लगायतका नारा लगाएका थिए। स्थानीय सुमन पौडेलले जलवायु परिवर्तनको असर स्थानीय समुदायले प्रत्यक्ष रूपमा भोगिरहेकाले यसको न्यूनीकरणका लागि स्थानीय तहदेखि अन्तर्राष्ट्रिय तहसम्म प्रभावकारी पहल आवश्यक रहेको बताए।