बाढीले क्षतिग्रस्त महादेव फाँट–छबिसे सडकको मर्मत तीव्र

बाढीले क्षतिग्रस्त महादेव फाँट–छबिसे सडकको मर्मत तीव्र

धादिङ । रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि क्षतिग्रस्त गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत महादेव फाँट–छबिसे सडकको पुनर्निर्माण तथा मर्मत कार्य तीव्र पारिएको छ । भदौ १० गते आएको बाढीले सडकको तल्लो भाग कटान गर्दा केही स्थान भासिएपछि मुख्य सडकमा यातायात सञ्चालन अवरुद्ध भएको थियो । अहिले निर्माण तथा प्राविधिक टोलीले क्षतिग्रस्त क्षेत्रको मर्मत गर्दै नदीको थप कटान रोक्न सडकको आधार मजबुत बनाउने, भासिएको भाग पुर्ने र आवश्यक वैकल्पिक संरचना निर्माण गर्ने काम गरिरहेका छन् । सडक अवरुद्ध हुँदा यात्रु, स्थानीय बासिन्दा तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन् भने गल्छीदेखि देवीघाटसम्म वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ । चीनसँगको उत्तरी नाका रसुवागढी जोड्ने महत्वपूर्ण मार्ग भएकाले सडकलाई सकेसम्म छिटो अस्थायी रूपमा सञ्चालनमा ल्याउने र दीर्घकालीन रूपमा सुरक्षित संरचना निर्माण गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार