इलाम । माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक निर्माण थालेको छ। माङसेबुङ–३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा उद्यानसहितको सालिक निर्माण भइरहेको हो। किरात धर्म, भाषा, संस्कार तथा संस्कृतिको संरक्षण र सामाजिक सुधारका क्षेत्रमा फाल्गुनन्दले पुर्याएको योगदानको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले सालिक निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए। स्थानीय राजेन्द्र खजुमको अध्यक्षतामा निर्माण समिति गठन गरी कामलाई तीव्रता दिइएको छ। तीन रोपनी दुई आना क्षेत्रफलमा निर्माण भइरहेको सालिक २५ फिट अग्लो र आठ फिट चौडाइको हुने निर्माण समिति अध्यक्ष खजुमले बताए। उनका अनुसार निर्माण सम्पन्न भएपछि यो विश्वमा निर्माण भएका फाल्गुनन्दका सालिकमध्ये अहिलेसम्मकै अग्लो र ठूलो हुने दाबी गरिएको छ।
सालिक निर्माणका लागि माङसेबुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ मा ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यसअघि आर्थिक वर्ष २०८२/८३ मा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उक्त बजेटबाट पार्कसहित सालिक राख्ने स्थानको व्यवस्थापन तथा सालिकको आधार तयार गरिएको गाउँपालिकाले जनाएको छ। किरात धर्म, संस्कृति र मौलिक पहिचानको प्रवर्द्धनसँगै माङसेबुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पार्कसहितको सालिक निर्माण भइरहेको अध्यक्ष राईले बताए। “माङसेबुङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थल हो। पछिल्लो समय वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको कर्मभूमि पनि हो,” उनले भने, “यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बनाउने योजनाका साथ काम गरिरहेका छौँ।”सालिकसँगै परिसरमा आवश्यक पूर्वाधार निर्माण, सौन्दर्यीकरण तथा पर्यटकीय आकर्षणका संरचनासमेत विकास गर्ने योजना रहेको निर्माण समिति अध्यक्ष खजुमले बताए। पार्कमा फाल्गुनन्दको पूर्ण कदको एउटा ठूलो सालिकसँगै वरिपरि आठ वटा साना सालिक राखिनेछन्।
पर्यटकका लागि आराम गर्ने स्थान, मनोरञ्जनका लागि काठेपिङ तथा च्याब्रुङ, साकेलालगायत सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने स्थलसमेत निर्माण गरिने उनको भनाइ छ। “फाल्गुनन्दका सालिक विश्वका विभिन्न ठाउँमा निर्माण भएका छन्। तर, यहाँ निर्माणाधीन सालिक अहिलेसम्म निर्माण भएकामध्ये सबैभन्दा अग्लो र ठूलो हुनेछ,” खजुमले भने, “विशाल सालिकसँगै वरिपरि आठ वटा साना सालिक राखेर परिसरलाई थप आकर्षक बनाइनेछ।”आफ्नो क्षेत्रमा किरात समुदायका राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक निर्माण हुन थालेपछि स्थानीयवासीसमेत उत्साहित भएका छन्। स्थानीय किसन सुब्बाले यसले माङसेबुङसँगै कोशी प्रदेशकै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। “पार्कसहितको फाल्गुनन्दको अहिलेसम्मकै ठूलो सालिक निर्माणले माङसेबुङलाई मात्र होइन, कोशी प्रदेशकै महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नेछ,” उनले भने, “निर्माणाधीन दमक–चिसोपानी सडकले पूर्णता पाएपछि यहाँ आवतजावत गर्नसमेत सहज हुनेछ।”फाल्गुनन्दलाई किरात धर्मावलम्बीहरूले महागुरु तथा किरात धर्मद