• २०८३ भाद्र ३० गते मङ्गलवार
  • Preeti To Unicode

व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै भोजपुरका किसान

व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै भोजपुरका किसान

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् । परम्परागत अन्नबालीबाट सीमित आम्दानी हुने भएपछि कृषकले सुन्तला खेतीलाई वैकल्पिक तथा दिगो आम्दानीको स्रोतका रूपमा अपनाउन थालेका हुन् । केही वर्षअघिसम्म घरायसी प्रयोजनमा सीमित रहेको सुन्तला खेती अहिले व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ । गाउँका धेरै किसानले खाली तथा कम उपयोगमा रहेका जमिनलाई व्यवस्थित रूपमा प्रयोग गर्दै सुन्तलाका बगैँचा विस्तार गरेका छन् ।

स्थानीय किसान चण्डालकुमार राईले अन्य बालीको तुलनामा व्यावसायिक सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न सकिने बताए । “सुन्तला खेतीसँगै बिरुवा उत्पादन गरेर बिक्री गर्दा थप आम्दानी लिन सकिएको छ,” उनले भने, “यसले घरखर्च चलाउनसँगै बचत गर्नसमेत सहयोग पुगेको छ ।” पछिल्लो समय खावा–केराबारी क्षेत्रका किसान व्यावसायिक सुन्तला खेतीमा जुटेका छन् ।

खावा–केराबारीको हावापानी, माटोको बनावट र उचाइ सुन्तला खेतीका लागि अत्यन्त अनुकूल मानिन्छ । यहाँ उत्पादन हुने सुन्तलाको स्वाद, गुणस्तर र आकार राम्रो हुने भएकाले बजारमा यसको मागसमेत उच्च रहेको स्थानीय किसान देउराम राईले बताए । व्यवस्थित रूपमा खेती विस्तार गर्न सके खावा क्षेत्र जिल्लाकै प्रमुख सुन्तला उत्पादन केन्द्रका रूपमा स्थापित हुन सक्ने उनको भनाइ छ ।

वडाध्यक्ष सुनिल राईले कृषि क्षेत्रको विकास गर्दै किसानको जीवनस्तर उकास्ने उद्देश्यले वडाले सुन्तला खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको बताए । “हामीले किसानलाई प्राविधिक सहयोगसँगै गुणस्तरीय बिरुवा वितरण गर्दै आएका छौँ,” उनले भने, “यस कार्यक्रमले आगामी वर्षमा उत्पादन वृद्धि हुनुका साथै किसानको आम्दानीमा सुधार ल्याउने विश्वास गरेका छौँ ।”

वडाले कृषि प्राविधिकमार्फत बगैँचा व्यवस्थापन, रोग–कीरा नियन्त्रण, मल व्यवस्थापन तथा आधुनिक खेती प्रविधिबारे नियमित रूपमा सहजीकरण गर्दै आएको जनाएको छ । व्यावसायिक सुन्तला खेतीको विस्तारसँगै खावालाई सुन्तला उत्पादनको ‘हब’ का रूपमा विकास गर्ने लक्ष्य रहेको वडाले जनाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार