काठमाडौँ । नेपाल र माइक्रोनेसियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस. लिपवेले सोमबार कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन्। यससँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका देशको संख्या १८५ पुगेको छ।
कूटनीतिक सम्बन्ध स्थापना गर्ने क्रममा भएको द्विपक्षीय भेटवार्तामा दुवै राजदूतले आपसी हितका विषयमा छलफल गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघलगायतका बहुपक्षीय मञ्चमा सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत उनीहरूले जोड दिएका छन्।
नेपालले माइक्रोनेसियासँगको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै संयुक्त राष्ट्रसंघ तथा अन्य बहुपक्षीय मञ्चमा साझा प्राथमिकता र हितका विषयमा सहकार्य अघि बढाउने अपेक्षा गरिएको छ। ओशिनिया क्षेत्रमा अवस्थित माइक्रोनेसिया प्रशान्त महासागरमा फैलिएको टापु राष्ट्र हो। यसको औपचारिक नाम माइक्रोनेसियाको संघीय राज्य हो, जुन चारवटा राज्य मिलेर बनेको संघीय देश हो। यसको जनसंख्या करिब १ लाख १५ हजार रहेको छ।