काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठन सुचारु गर्नुका साथै अभिभावकविहीन बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी सरकारले लिने नीति बनाउन माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद रमेशकुमार मल्लले रसुवामा बाढीका कारण सिर्जित गम्भीर परिस्थिति र पीडित परिवारको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा मृतकका शव नेपाल ल्याउने वातावरण मिलाउन आग्रह गरे। उनले रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक तथा झोलुङ्गे पुलको पुनर्निर्माण गरी तत्काल सञ्चालनमा ल्याउन, बाढी तथा विपद्बाट घाइते भएकाको निःशुल्क उपचार गर्न र क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने बताए। चाडपर्व नजिकिँदै गर्दा देशभर सडकको जोखिम पहिचान गरी तत्काल मर्मत तथा स्तरवृद्धि गर्नुपर्नेमा जोड दिँदै सांसद मल्लले विपद् व्यवस्थापन र सडक पूर्वाधार सुरक्षामा सरकार गम्भीर बन्न नसक्दा नागरिकले दुःख पाइरहेको बताए। उनले विपद्बाट प्रभावित नागरिकको समस्या समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे।