काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको आरोप लगाएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले सांसद पद्मा अर्यालले ग्यास अभावका कारण सर्वसाधारण, विशेषगरी निम्न आय भएका नागरिक, मजदुर, विद्यार्थी तथा अपांगता भएका व्यक्ति बढी प्रभावित भएको बताइन्।
सांसद अर्यालले एक सुत्केरीका श्रीमान्ले ग्यास नपाएपछि खोलामा हाम फालेको घटना अझै ताजै रहेको उल्लेख गर्दै सरकारको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाइन्। उनले ग्यासको कृत्रिम अभावका कारण ज्यालामा रोजगारी गर्ने ६५ प्रतिशतभन्दा बढी जनता आक्रान्त भएको दाबी गरिन्। उनका अनुसार ग्यास अभावका कारण सर्वसाधारण महँगो मूल्यमा सिलिन्डर किन्न बाध्य छन्।
अर्यालले ग्यास अभावलाई सरकारले सामान्य रूपमा लिन नहुने बताउँदै एउटा मात्रै ग्यास सिलिन्डर भएका र सिलिन्डर साटेर तत्कालै नयाँ ग्यास ल्याउनुपर्ने परिवारको संख्या तथा अवस्थाबारे सरकारसँग तथ्यांक छ कि छैन भन्ने प्रश्न गरिन्। निम्न वर्गका परिवारसँग विद्युतीय चुल्होको पर्याप्त सुविधा नभएको उल्लेख गर्दै उनले भनिन्, “काम छाडेर ग्यास खोज्न जाने कि काम गर्न जाने?” उनले ग्यास अभावको समस्या तत्काल समाधान गरी नागरिकलाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन सरकारसँग माग गरिन्।