काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठीसम्बन्धी नयाँ विधेयक आवश्यक कानुनी प्रक्रिया पूरा गरी छिट्टै संसदमा पेश गरिने बताएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले विधेयकलाई उच्च प्राथमिकताका साथ अघि बढाइने जानकारी दिएकी हुन्।विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै अहिले विज्ञ तथा सरोकारवालासँग गहन छलफल र परामर्श भइरहेको मन्त्री रावलले बताइन्। उनका अनुसार गुठी जग्गा केवल जमिनको स्वामित्वसँग मात्र सम्बन्धित विषय नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण तथा गुठीको आम्दानीबाट सञ्चालन हुने जात्रा–पर्वसँग समेत अभिन्न रूपमा जोडिएको संवेदनशील विषय हो।मन्त्री रावलले गुठी संस्थान ऐन, २०३३ अनुसार गुठी जग्गाका मोही किसानले मोही हक प्राप्त गर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारिन्। त्यस्तो मोही हक खरिद–बिक्री गर्न तथा धितो–बन्धक राख्नसमेत सकिने व्यवस्था रहेको उनले जानकारी दिइन्।त्यस्तै, गुठी अधीनस्थ जग्गामा मोहीले गुठी संस्थानको स्वीकृति लिएर तोकिएको दस्तुर तिरी घर वा टहरा बनाउन सक्ने व्यवस्था रहेको उनले बताइन्। त्यसैले नयाँ गुठी विधेयकलाई लिएर मोहीहरू नकारात्मक वा त्रसित हुनुपर्ने अवस्था नरहेको मन्त्री रावलको भनाइ छ।