काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सुरु भएको छ। बैठकमा भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ। भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। यसअघि भदौ ११ गते बसेको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनका लागि १० बुँदे सङ्कल्प गरेको थियो। त्यसैगरी, भदौ १५ गते बसेको दोस्रो तहको सर्वदलीय बैठकले उक्त १० बुँदे सङ्कल्प कार्यान्वयन गर्ने निर्णय गरेको थियो। अहिलेको बैठकले ती निर्णयलाई प्रभावकारी रूपमा अघि बढाउँदै बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक राजनीतिक संयन्त्र गठन गर्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।