सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, सन्दीप अधिकारीविरुद्ध मुद्दा

सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, सन्दीप अधिकारीविरुद्ध मुद्दा

सिड्नी । पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ। अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ।घटनाको २४ घण्टाभन्दा कम समयपछि अधिकारी बुधबार बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए। उनले अदालतमा आफूविरुद्ध लागेको आरोप स्वीकार वा अस्वीकार गरेको प्रतिक्रिया दिएका छैनन्। अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रश्न गर्दा उनका केही समर्थक पनि देखिएका थिए। रिपोर्टअनुसार अधिकारीले कागजको पानाले आफ्नो अनुहार छोप्ने प्रयास गरेका थिए।अधिकारीका वकिल ड्यानी इडले घटनालाई ‘अत्यन्तै दुःखद’ बताएका छन्। उनले अधिकारी निकै तनावमा रहेको र परिवार तथा उनीहरूको अवस्थाबारे चिन्तित रहेको सञ्चारकर्मीलाई बताएका छन्।

कसरी भयो घटना?

मंगलबार दिउँसो करिब २ बजे अर्बनको नर्मनबी रोडस्थित ड्राइभवेमा खेलिरहेकी बालिकालाई कारले ठक्कर दिएको खबरपछि आपत्कालीन सेवाका टोली घटनास्थल पुगेका थिए। गम्भीर अवस्थामा रहेकी बालिकालाई तत्काल वेस्टमिड अस्पताल लगिएको थियो। तर, केही घण्टापछि उनको मृत्यु भएको थियो।घटनामा अधिकारीलाई कुनै चोटपटक लागेको थिएन। अनिवार्य परीक्षणका लागि उनलाई अर्बन अस्पताल लगिएपछि प्रहरी स्टेसन पुर्‍याइएको थियो। त्यसपछि प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको हो।अधिकारी अहिले जमानतमा छन्। उनलाई आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले अधिकारीमाथि लागेको आरोप हालसम्म पुष्टि भइसकेको छैन।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार