काठमाडौं । अमेरिकाको लस एन्जलसस्थित च्याट्सवर्थको सान फर्नान्डो भ्यालीमा मंगलबार राति एनबीसी लस एन्जलसको एउटा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। लस एन्जलसका अग्निनियन्त्रकहरूका अनुसार एन. म्यासन एभिन्युको ९१०० ब्लकमा रहेका दुई व्यावसायिक भवनबीच हेलिकप्टर खसेको थियो। हेलिकप्टर दुईवटा सिपिङ कन्टेनर र पार्क गरिएका केही सवारीसाधनमाथि खसेपछि ठूलो आगलागी भएको थियो। आगो नजिकै पार्क गरिएका अन्य सवारीसाधनमा समेत फैलिएको थियो। अग्निनियन्त्रकहरूले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा आएपछि घटनास्थलमा एक जनाको शव फेला परेको थियो भने पछि एलएएफडीका अधिकारीहरूले थप दुई जनाको पनि मृत्यु भएको पुष्टि गरेका थिए। दुर्घटनामा घाइते भएका दुई जनालाई स्थानीय अस्पताल लगिएको छ। उनीहरूको अवस्थाबारे तत्काल जानकारी प्राप्त हुन सकेको छैन। हेलिकप्टर दुर्घटना कसरी भयो भन्ने विषयमा भने हालसम्म स्पष्ट जानकारी आएको छैन।