भोटेकोशी बाढीपीडितको माग : ‘सोले फर्कन सक्दैनौँ, रोजेको ठाउँमा पुनर्स्थापना गरियोस्’

भोटेकोशी बाढीपीडितको माग : ‘सोले फर्कन सक्दैनौँ, रोजेको ठाउँमा पुनर्स्थापना गरियोस्’

काठमाडौँ । भोटेकोशी बाढीबाट थातथलो र परिवार गुमाएका नुवाकोटको विदुर नगरपालिका–७ सोलेका विस्थापित स्थानीयले आफूहरू अब सोही गाउँमा बस्न नसक्ने बताएका छन्। उनीहरूले विस्थापितका लागि छुट्टै स्थानको व्यवस्थापन गर्न वा पुनर्स्थापनाका लागि प्याकेजमा एकमुष्ट रकम उपलब्ध गराए आफूहरू आफैँ घर निर्माण गर्ने बताएका छन्।हाल विदुर नगरपालिकाले सोलेका बाढीपीडितलाई तुप्चेकै भित्रिनटारमा स्थानान्तरण गर्ने तयारी गरेको छ। तर, पीडितहरूले उक्त स्थान आफूहरूका लागि उपयुक्त नभएको भन्दै वैकल्पिक ठाउँमा पुनर्स्थापना गर्न माग गरेका छन्। बुधबार उनीहरूले नुवाकोटका सांसद अच्युतम लामिछानेलाई भेटेर आफ्ना मागसहित ध्यानाकर्षण गराएका हुन्।विदुर नगरपालिका–७ तुप्चेमा चार आना जग्गामा घर बनाइदिने गरी अघि सारिएको पुनर्स्थापनाको विकल्पप्रति पीडितहरूले गम्भीर आपत्ति जनाएका छन्। अधिकांश सोले बजारवासी व्यवसायमा निर्भर रहेकाले जमिनबिना तुप्चेमा घर मात्र बनाइदिँदा आगामी दिनमा रोजगारी तथा जीविकोपार्जन गर्न समस्या हुने उनीहरूको भनाइ छ।

‘विदुर नगरपालिकाले निर्धारण गरेको ठाउँमा हामी बस्दैनौँ। विकल्पका रूपमा हामीलाई विदुरको कोलनीलगायत अन्य ठाउँमा स्थानान्तरण गरियोस्,’ विस्थापित स्थानीय उत्तम ढकालले भने, ‘अब हामी सोही गाउँमा फर्केर पनि जान सक्दैनौँ।’पीडितहरूले जीविकोपार्जनको ठोस आधारबिना घर मात्र निर्माण गर्दा पुनर्स्थापना दीर्घकालीन नहुने बताएका छन्। थोरै मानिसले पनि भविष्य नदेखेमा सरकारी लगानी व्यर्थ जाने उनीहरूको तर्क छ।बाढीमा आमा र बुवा गुमाएका सोलेका स्थानीय दीपेन्द्र भण्डारीले पीडितहरूको मानसिक अवस्थालाई समेत ध्यान दिन सरकार र स्थानीय तहसँग आग्रह गरेका छन्। ‘पहिले सामाजिक प्रतिष्ठाका साथ बसेका बासिन्दालाई सोही ठाउँका गैरपीडितहरूसँग पीडितका रूपमा राख्दा थप मानसिक पीडा हुने हामीले महसुस गरेका छौँ,’ उनले भने, ‘नगरपालिकाले हाम्रो मानसिक अवस्था र पीडा पनि महसुस गरेर माग सम्बोधन गरोस्।’भण्डारीका अनुसार सोलेका विस्थापित परिवारहरू एकै ठाउँमा बस्न चाहन्छन्। ‘हामी सोलेका विस्थापित घरपरिवार एकजुट भएरै एकै ठाउँमा बस्न चाहन्छौँ,’ उनले भने, ‘यो बेला हामीलाई देखाएर राजनीति गर्ने र कुनै स्वार्थ समूह हाबी नहोस्। हाम्रो ठाउँका विस्थापितलाई विदुर नगरपालिकाको अन्य क्षेत्रमा राखियोस्।’उनले केही व्यक्तिले सोले छाडेर नजाने भनेका आधारमा सबै पीडितलाई त्यही ठाउँमा बस्न बाध्य पार्न नहुने बताए। ‘कसैले हामी यो ठाउँ छाडेर जाँदैनौँ भन्छन् भन्दैमा हामीलाई यही ठाउँमा बस्न भन्न मिल्दैन,’ उनले भने।

भोटेकोशी बाढीमा परिवारका चार सदस्य गुमाएका पुरुषोत्तम पौडेलले पनि नगरपालिकाले आफूहरूलाई जबर्जस्ती कुनै निश्चित ठाउँमा बस्न बाध्य पार्न नहुने बताए। आफूहरूले रोजेको ठाउँमा पुनर्स्थापना गर्नुपर्ने उनको माग छ।‘बाढीले तहसनहस भएको सोही ठाउँमा पुग्दा यसै पनि मन सम्हाल्न सक्ने अवस्था छैन,’ पौडेलले भने, ‘यो अवस्थामा हामीले खोजेको ठाउँ छाडेर भित्रिनटारमा बस्न भन्न मिल्दैन। हामी त्यो ठाउँमा बस्दैनौँ।’भोटेकोशी बाढीमा परेर विदुर नगरपालिका–७ सोलेमा मात्रै ६८ घर पूर्ण रूपमा नष्ट भएका छन्। ७४ जना बेपत्ता भएकामा हालसम्म दुई जनाको मात्र सनाखत हुन सकेको पीडितहरूले बताएका छन्। विस्थापितका अनुसार बस्तीको अवस्था यति भयावह छ कि पहिले घर कहाँ थियो भन्नेसमेत यकिन गर्न नसकिने अवस्था छ।सोले बजारका स्थानीयहरूले पुस्तौँदेखिको कमाइ र सम्पूर्ण लगानी सोही स्थानमा गुमाउनुपरेको बताएका छन्। बाढीपछि आफूहरूको जीवन तथा आर्थिक अवस्था दशौँ वर्ष पछाडि धकेलिएको उनीहरूको भनाइ छ। त्यसैले घर निर्माण मात्र नभई रोजगारी, जीविकोपार्जन र दीर्घकालीन पुनर्स्थापनालाई समेत समेटेर योजना बनाउनुपर्ने उनीहरूको माग छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार