झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्ध आजदेखि खोप अभियान सञ्चालन हुँदैछ। स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको र आवश्यक तयारी पूरा भएको कार्यालयले जनाएको छ।
जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए। उनका अनुसार झापामा जेई संक्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कतासहित खोप अभियान सञ्चालन गर्न लागिएको हो।
स्वास्थ्य कार्यालयका अनुसार झापामा हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएकोमा सात जनाको मृत्यु भएको छ। मृत्यु भएका सबैले जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताए। लक्षित समूहका कुनै पनि नागरिक खोपबाट नछुटून् भन्ने उद्देश्यले स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक तयारी पूरा गरिएको उनले जानकारी दिए।
स्वास्थ्य कार्यालयले खोप सुरक्षित रहेकाले लक्षित समूहका नागरिकलाई अभियानमा सहभागी भएर खोप लगाउन आग्रह गरेको छ। गर्भवती, यसअघि खोप लगाउँदा गम्भीर एलर्जी (एनाफिलेक्सिस) भएको व्यक्ति तथा खोपका कुनै तत्वबाट गम्भीर एलर्जी भएका व्यक्तिले भने खोप लगाउन नहुने जनाइएको छ। त्यस्तै, ज्वरो आएको अवस्थामा खोप नलगाई ज्वरो निको भएपछि खोप लगाउन सकिने कार्यालयले जनाएको छ।
जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। संक्रमित चराचुरुङ्गी तथा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा जेईको संक्रमण सर्न सक्छ।