खाली जमिनमा बेसार खेती, हरियालीसँगै उत्पादन विस्तारको तयारी

खाली जमिनमा बेसार खेती, हरियालीसँगै उत्पादन विस्तारको तयारी

धनकुटा । केही समयअघिसम्म सडक छेउछाउका खाली जमिनमा झारपात मात्रै देखिन्थे। सडकबाट आवतजावत गर्नेहरूका लागि ती ठाउँ खाली र उपयोगविहीन क्षेत्रजस्तै थिए। अहिले भने त्यही जमिनको स्वरूप फेरिन थालेको छ। सडकको दुवैतर्फ हरिया बेसारका बोट देखिन थालेपछि सडक क्षेत्रको दृश्यमा समेत परिवर्तन आएको छ।

खाली र उपयोगविहीन देखिने जमिनलाई उत्पादनसँग जोड्ने, हरियाली बढाउने र स्थानीय समुदायलाई कृषि गतिविधिमा आकर्षित गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले सडक आसपासका खाली जमिनमा बेसार खेती सुरु गरेको हो। नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालका अनुसार तत्काल ठूलो आर्थिक आम्दानी गर्नेभन्दा पनि खाली जमिनको सदुपयोग, वातावरण संरक्षण र भविष्यमा कृषि उत्पादन विस्तार गर्ने आधार तयार गर्ने उद्देश्यले अभियान अघि बढाइएको हो।

कोशी राजमार्गअन्तर्गत धनकुटा नगरपालिकाको सरस्वती चोकदेखि सल्लेरी ब्यारेकसम्मको सडक खण्डका साथै नगरभित्रका विभिन्न भित्री सडक छेउछाउमा समेत बेसार रोपिएको छ। कोशी राजमार्गको सरस्वती चोकदेखि सल्लेरी खण्डसहित नगरभित्रका विभिन्न सडक क्षेत्रमा गरी करिब ७ रोपनी क्षेत्रफलमा बेसार खेती विस्तार गरिएको खनालले जानकारी दिए। उनका अनुसार तत्काल आम्दानी लिनुभन्दा सडक छेउछाउ तथा अन्य खाली जमिनको सदुपयोग गर्नु अभियानको मुख्य उद्देश्य हो।

सहर तथा सडक क्षेत्रको विकास भन्नासाथ सडक, नाली, भवन र अन्य भौतिक पूर्वाधारलाई मात्र जोडेर हेर्ने गरिन्छ। तर, सडक छेउछाउमा रहेका साना–ठूला खाली क्षेत्रको व्यवस्थापन पनि नगरको सौन्दर्य र वातावरणका लागि महत्वपूर्ण हुन्छ। यही पक्षलाई ध्यानमा राखेर सडक छेउछाउका खाली जमिनमा बेसार रोपिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए। बेसारका बोट हुर्कंदै गएपछि सडक छेउछाउमा हरियाली देखिन थालेको र यसले सडक क्षेत्रलाई आकर्षक बनाउनुका साथै खाली जमिनलाई उपयोगमा ल्याउने आधार तयार गरेको उनको भनाइ छ।

यस अभियानमार्फत स्थानीय किसान, कृषक समूह तथा सामुदायिक वन समूहलाई समेत खाली जमिनमा उत्पादनमूलक काम गर्न प्रेरित गर्ने नगरपालिकाको उद्देश्य छ। धनकुटाका किसानले पछिल्लो समय बाँदरबाट हुने क्षतिको समस्या भोग्दै आएका छन्। खेतबारीमा लगाइएका विभिन्न बालीमा बाँदरले क्षति पुर्‍याउने भएपछि कतिपय किसान कृषि उत्पादनबाटै निरुत्साहित हुने अवस्था आएको छ। विशेषगरी मकै तथा धान खेती हुने क्षेत्रमा बाँदरको समस्याका कारण कतिपय किसान खेतीबाट विस्थापित भएको नगरपालिकाको भनाइ छ।

यस्तो अवस्थामा बेसार खेती किसानका लागि वैकल्पिक बालीका रूपमा देखिएको छ। अन्य कतिपय बालीको तुलनामा बेसारमा बाँदर तथा वन्यजन्तुबाट हुने क्षति कम हुने भएकाले यसको खेती विस्तार गर्न सकिने सम्भावना रहेको नगरपालिकाको बुझाइ छ। खाली जमिनमा बेसार खेती विस्तार गर्दा एकातिर जमिनको उपयोग हुने र अर्कोतिर किसानलाई तुलनात्मक रूपमा कम जोखिम हुने बालीतर्फ आकर्षित गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत राईले बताए।

बेसार खेती विस्तारका लागि धनकुटा नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकिलो एक सय रुपैयाँका दरले एक सय किलो बेसारको बीउ खरिद गरेको थियो। त्यही बीउबाट अहिले विभिन्न क्षेत्रमा खेती विस्तार गरिएको हो। सुरुवातका लागि ठूलो क्षेत्रफल आवश्यक नपर्ने र उत्पादन भएपछि आफ्नै बीउबाट थप क्षेत्र विस्तार गर्न सकिने भएकाले नगरपालिकाले बेसारलाई प्राथमिकतामा राखेको हो।

एकपटक रोपिएको बालीबाट बीउ जोगाएर अर्को वर्ष थप क्षेत्रफलमा खेती गर्न सकिने भएकाले अभियानलाई क्रमशः विस्तार गर्दै लैजाने नगरपालिकाको योजना छ। हाल रोपिएका बेसारबाट उत्पादन हुने बीउ आगामी वर्षमा थप क्षेत्रमा खेती विस्तार गर्न प्रयोग गर्ने तयारी गरिएको छ। उत्पादन भएको बेसारको बीउ खेती गर्न चाहने किसान, कृषक समूह तथा सामुदायिक वन समूहलाई उपलब्ध गराउने योजना रहेको नगर प्रमुख चिन्तन तामाङले बताए।

सडक आसपासमा सुरु भएको बेसार खेतीलाई केही रोपनी जमिनमा मात्र सीमित नराखी उत्पादन भएको बीउ अन्य क्षेत्रमा विस्तार गर्ने नगरपालिकाको योजना छ। नगरभित्र खाली रहेका सरकारी, ऐलानी तथा प्रति जग्गासमेत उत्पादनसँग जोड्ने सोच रहेको नगर प्रमुख तामाङले बताए। नगरपालिकाको स्वरोजगार कार्यक्रममा आबद्ध व्यक्तिहरूलाई बेसार खेतीको गोडमेल तथा हेरचाहमा समेत परिचालन गरिएको छ। उनीहरूले बेसारको गोडमेलसँगै सडक क्षेत्रको सरसफाइ, फलफूलका बिरुवा रोप्ने तथा बिरुवाको छाँटकाँटलगायतका काम गर्दै आएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार