रुकुमपूर्व । कोरोना महामारीका बेला अक्सिजन अभाव टार्न रुकुमपूर्व अस्पतालमा करिब ७२ लाख रुपैयाँ खर्च गरेर जडान गरिएको अक्सिजन प्लान्ट पाँच वर्ष बितिसक्दा पनि अपेक्षाअनुसार नियमित सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा प्लान्ट जडानका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । टेन्डर प्रक्रियामार्फत करिब ७२ लाख रुपैयाँको लागतमा जडान गरिएको प्लान्टले दैनिक ४० लिटर क्षमताका ३० देखि ३२ वटा सिलिन्डर भर्न सक्ने बताइएको थियो । तर अहिले अस्पतालमा बिरामीलाई अक्सिजन आवश्यक पर्दा पोखरा, भैरहवालगायत बाहिरी जिल्लाबाट सिलिन्डर ल्याउनुपर्ने अवस्था छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खरालका अनुसार अस्पतालमै अक्सिजन उत्पादन गर्न सके उपचार सेवा सञ्चालनमा सहज हुनेछ । उनका अनुसार पछिल्लो १५/१६ महिनाको अवधिमा करिब पाँच/छ महिना प्लान्टबाट अक्सिजन उत्पादन गरिएको थियो । तर विद्युत् नियमित नहुँदा उत्पादनलाई निरन्तरता दिन नसकिएको उनले बताए । प्लान्ट सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्तिको अभावसमेत रहेको अस्पतालको भनाइ छ । जेनेरेटरबाट प्लान्ट सञ्चालन गर्दा उत्पादन लागत महँगो पर्ने भएकाले कतिपय अवस्थामा बाहिरबाट अक्सिजन खरिद गर्नु सस्तो पर्ने गरेको डा. खरालले बताए ।
यसैबीच गत ३१ असारमा अविरल वर्षापछि आएको पहिरोले अक्सिजन प्लान्टमा थप क्षति पुर्याएको छ । सिस्ने गाउँपालिका–५ मा सडक खन्ने क्रममा थुपारिएको ढुंगामाटो वर्षाको पानीले बगाउँदा प्लान्टमा क्षति पुगेको अस्पतालले जनाएको छ । पहिरोले प्लान्टको बुस्टर पूर्ण रूपमा क्षति भएको र अन्य पार्टपुर्जामा समेत आंशिक क्षति पुगेको डा. खरालले बताए । सडक विस्तारका क्रममा थुपारिएको ढुंगामाटो खस्दा क्षति पुगेकाले सडक विस्तारमा संलग्न निकाय तथा निर्माण कम्पनीसँग क्षतिपूर्ति मागका लागि पहल भइरहेको अस्पतालले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार जोखिमयुक्त स्थानमा रहेको अक्सिजन प्लान्टलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । त्यसका लागि आवश्यक विद्युत् व्यवस्था र प्राविधिक जनशक्तिसँग समन्वय भइरहेको उनले बताइन् । प्रशासनले अस्पतालको निवेदनपछि सिस्ने गाउँपालिकालाई समेत आवश्यक पहलका लागि पत्राचार गरेको जनाएको छ ।
सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले भने पहिरोका कारण प्लान्ट पूर्ण रूपमा बिग्रिएको अवस्था नरहेको बताए । उनका अनुसार प्लान्ट विगतका वर्षदेखि नै नियमित प्रयोगमा थिएन । अक्सिजन प्लान्ट अस्पतालको मात्र नभई जिल्लाकै स्वास्थ्य सेवासँग जोडिएको विषय भएकाले गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनले बताए । गाउँपालिकाले प्लान्ट आसपास थुप्रिएको माटो हटाउन जनशक्ति परिचालन गरिसकेको छ ।
अस्पतालका अनुसार पछिल्ला केही दिनयता पहिरोले थुपारेको ढुंगामाटो र ढुंगागिट्टी हटाएर प्लान्ट परिसर सफा गर्ने काम भइरहेको छ । केही दिनभित्र सरसफाइको काम सकिएपछि प्लान्टलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने अस्पतालले जनाएको छ । लाखौँ रुपैयाँ खर्च गरेर स्थापना गरिएको प्लान्ट लामो समयसम्म नियमित सञ्चालनमा आउन नसक्नु र अहिले पहिरोबाट समेत क्षति पुग्नुले सरकारी लगानीको उपयोगिता र व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।