बाढीले त्रिशूली र चिलिमेमा क्षति पुर्‍याएपछि सोलु कोरिडोरबाट बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने तयारी

बाढीले त्रिशूली र चिलिमेमा क्षति पुर्‍याएपछि सोलु कोरिडोरबाट बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने तयारी

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्रिशूली र चिलिमे जलविद्युत् आयोजनामा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यातलाई निरन्तरता दिन वैकल्पिक आयोजनाको तयारी अघि बढाएको छ । ती आयोजना क्षतिग्रस्त भएपछि प्राधिकरणले नियमअनुसार ‘फोर्स मेजर’ घोषणा गरे पनि निर्यात रोक्ने पक्षमा नरहेको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दिघार्यु कुमार श्रेष्ठका अनुसार त्रिशूली र चिलिमेको सट्टा सोलु कोरिडोरका अपर सोलुलगायत अन्य आयोजनाबाट ४० मेगावाट विद्युत् बंगलादेश पठाउने तयारी भइरहेको छ । नेपालबाट भारतको प्रसारण प्रणाली हुँदै बंगलादेशमा विद्युत् पठाउनुपर्ने भएकाले वैकल्पिक आयोजनालाई निर्यातमा समावेश गर्न भारतीय पक्षसँग आवश्यक पहलसमेत भइरहेको प्राधिकरणले जनाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग छलफल भइसकेको र स्वीकृति छिट्टै प्राप्त हुने अपेक्षा गरिएको श्रेष्ठले बताए । यसैबीच, भोटेकोशी कोरिडोरका जलविद्युत् आयोजनामा बाढीपहिरोले क्षति पुर्‍याएपछि भारततर्फको विद्युत् निर्यातमा समेत कमी आएको छ । बाढीअघि नेपालले भारततर्फ दैनिक ८०० देखि १ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्दै आएकोमा अहिले निर्यात घटेर दैनिक ६०० देखि ७०० मेगावाटको हाराहारीमा पुगेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार