काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको पूर्वाधार समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीबाट क्षतिग्रस्त सडक, पुल तथा खानेपानी संरचना सम्भव भएसम्म तत्काल सञ्चालनमा ल्याउने र तत्काल सम्भव नभएका संरचनाको पुनर्निर्माण गर्ने काम अघि बढिरहेको जानकारी दिए। बाढी आएको दिन नै मन्त्रिपरिषद्को बैठक बसेर अबण्डा बजेटबाट तत्काल काम सुरु गर्ने निर्णय गरिएको बताउँदै उनले अहिले सरकारको प्राथमिकता कनेक्टिभिटी सुचारु गर्नुका साथै खानेपानीजस्ता अत्यावश्यक सेवा पुनःस्थापना गर्नु रहेको उल्लेख गरे। उनले ठूलो निर्माणबाहेक असोज महिनाभित्र यातायात सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताए। साथै, आपतकालीन ठेक्काको प्रावधानअनुसार १२ भदौदेखि विभिन्न कामका लागि ठेक्का लगाउन सुरु गरिएको र उक्त प्रक्रिया निरन्तर जारी रहेको उनले जानकारी दिए।