काठमाडौंको त्रिपुरेश्वरस्थित चोकको बस स्टप अगाडि बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको हो। आगलागी हुँदा बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा बसभित्रै रहेका थिए। उनी घाइते भएपछि प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। चालक बसभित्रै रहेका बेला आगलागी भएकाले घटना संकास्पद देखिएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।