बाँके । बाँकेमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानअन्तर्गत एक सातामा ३ हजार ११९ किशोरीलाई खोप लगाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार असोज १ गतेदेखि सुरु भएको अभियानमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइएको हो।
जिल्लाका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ। जिल्लामा कक्षा ६ का ४ हजार ३८० र विद्यालयबाहिरका १० वर्ष उमेर समूहका करिब ५ हजार ६९१ गरी कुल करिब १० हजार ७१ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति देवनारायण उपाध्यायले अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरेको छ। महिनावारी सुरु हुनुअघि एचपीभी खोप लगाउँदा यसको प्रभावकारिता बढी हुने भएकाले लक्षित उमेर समूहका किशोरीलाई खोप लगाउन प्रोत्साहित गरिएको छ।
लक्षित किशोरीमध्ये ९९ प्रतिशतभन्दा बढीमा खोपको पहुँच पुर्याउन सके पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण योगदान पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ। नेपालमा महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा रहेको छ। गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई एचपीभी खोप लगाइएको थियो।
सरकारले ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एचपीभी खोप अभियान सञ्चालन गर्दै आएको छ। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरीहरूलाई लक्षित गरी समयमै एचपीभी खोपको पहुँच विस्तार गर्न अभियान सञ्चालन गरिएको हो।