स्याङ्जामा झुटा विवरण पेस गरी दोहोरो नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका एक पुरुष र उनकी दिदी धरौटीमा रिहा भएका छन्। गल्याङ नगरपालिका–२ का ३६ वर्षीय मधु थापा र उनकी ४५ वर्षीया दिदी सपिना थापा जिल्ला अदालत स्याङ्जाको आदेशपछि धरौटी बुझाएर रिहा भएका हुन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मधु थापाले २०६५ असार १९ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आफ्नो नाममा नेपाली नागरिकता लिएका थिए। त्यसपछि उनले नक्कली एसएलसी शैक्षिक प्रमाणपत्र तयार गरी झुटा विवरण पेस गरेको आरोप छ। अनुसन्धानका क्रममा उनले अर्कै व्यक्तिलाई बुबा कायम गरी ‘कुशल थापा’ नाम र फरक जन्ममिति राखेर २०७२ मंसिर ४ गते सोही कार्यालयबाट अर्को नेपाली नागरिकता लिएको खुलेको प्रहरीले जनाएको छ। कुशल थापाको नाममा राहदानीसमेत लिएको विषयमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रहरीलाई पत्राचार गरेको थियो।
प्राप्त पत्रका आधारमा प्रहरीले २०८२ चैत १५ गते नागरिकता तथा लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। मधु थापालाई २०८३ भदौ ८ गते र उनकी दिदी सपिना थापालाई दोहोरो नागरिकता सनाखत गरेको आरोपमा भदौ ३१ गते पक्राउ गरिएको थियो।
अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेपछि दुवै जनालाई असोज ५ गते स्याङ्जा जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतको आदेशअनुसार मधु थापा दुई लाख २५ हजार रुपैयाँ र सपिना थापा एक लाख २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।